देश

तीन महिनादेखि हराएका पुजन राईको खोजीमा प्रहरीले सहयोग नगरेको परिवारको गुनासो

सिन्धुपाल्चोकको बाह्रबिसेबाट हराएका भोजपुरका पुजन राईको खोजीका लागि परिवारले सहयोगको याचना गरेको छ । प्रहरी प्रशासनले घटनाको अनुसन्धान गम्भीर रुपमा नगरेको परिवारको गुनासो छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत २५ वर्षिय पुजन कात्तिक २७ देखि सम्पर्कमा नआएको उनको परिवारले जनाएको छ ।

विगत १० महिनादेखि पुजन स्वास्थ्य केन्द्रमा नेत्र सहायकको रुपमा कार्यरत थिए । कात्तिक २७ गते राति साढे ८ बजे आफ्नी दिदीको फोन उठाएका पुजन त्यसपछि सम्पर्कबिहीन भएको उनका बाबु लालकुमार राईले बताए ।

‘मंसिर २ गतेदेखि निरन्तर खोजी गर्दासमेत छोराको अवस्थाबारे जानकारी पाएका छैनौं’, पत्रकार सम्मेलनमा बुवा लालकुमारले भने । प्रहरी र प्राथमिक स्वास्थ्य केन्द्रका कर्मचारीसँग बुझ्दा पुजन साथी भेट्न गएको तर त्यसपछि नफर्किएको जानकारी पाएको परिवारले जनाएको छ ।

घटनाका शंकास्पद व्यक्तिहरूलाई किटानी जाहेरी दिन खोज्दा प्रहरीले लिन नमानेको परिवारको गुनासो छ । खोजीका लागि बाह्रबिसे नगरपालिकाका मेयर नेम फेन्जु शेर्पालेसमेत बेवास्ता गरेको परिवारको भनाइ छ ।

पुजनसँगै उनले प्रयोग गर्ने गरेको को २१ प ५७९९ नम्बरको चकलेटी रंगको बुलेट मोटरसाइकल समेत गायब छ । पुजनको खोजीका लागि पीडित परिवारले राष्ट्रिय मानव अधिकार आयोग र जिल्ला प्रहरी कार्यालय चौतारामा निवेदन दिएको छ ।

Featured