देश

अब अनलाइनबाटै माटो परीक्षण, ७० प्रतिशत नतिजा थाहा हुने

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले अनलाइन प्रणालीबाट माटोको परीक्षण गर्ने भएको छ । नार्कले विकास गरेको अनलाइन प्रणालीको बुधबार प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको नार्कले जानकारी दिएको छ ।

अनलाइन प्रणालीबाट परीक्षण गर्दा ७० प्रतिशतसम्म माटोको क्षमता थाहा पाउन सकिने नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक दीपक भण्डारीले जानकारी दिए ।

अनलाइन प्रणाली सञ्चालनमा आएपछि गाँउ-गाँउमा पुगेर माटो परीक्षण गर्नु पर्दैन । किसानले अनलाइन प्रणालीबाटै माटो परीक्षण गर्न सक्ने कार्यकारी निर्देशक भण्डारीले बताए ।

‘अनलाइन सञ्चालनमा आएपछि किसानले खेतीका लागि अनलाइनबाट माटो परीक्षण गर्न सक्छन्,’ उनले भने, ‘मौसमअनुसार कस्तो खेती गर्न सकिन्छ भनेर घरैबाट किसानले माटो परीक्षण गर्न मिल्छ ।’ भण्डारीका अनुसार यो दक्षिण एसियामै पहिलो हो । यसको विकास कमै देशले मात्र गरेको उनले बताए ।

‘नेपालले माटो परीक्षण गर्न विकास गरेको लनलाइन प्रणाली साउथ एसियामा पहिलो हो,’ उनले भने, ‘अहिलेसम्म अनलाइनबाट माटो परीक्षण गर्न अनलाइन प्रणालीको विकास थोरै देशले मात्र गरेका छन् । नेपालका हकमा यो आवश्यक थियो ।’ अनलाइन प्रणाली सञ्चालनमा आए पनि किसानले माटो परीक्षण गर्न बोकेर हिँड्नुपर्ने अवस्थाको अन्त्य हुने उनको दाबी छ ।

लामो समयको अनुसन्धानपछि यो प्रणालीको विकास गरेको नार्कले जनाएको छ । यो प्रणाली चाँडै स्थानीय र प्रदेश सरकारसँग जोडिने नार्कको भनाइ छ ।

Featured