देश

प्रधानमन्त्रीलाई गाली गर्नेलाई कारबाही गर्न माग

काठमाडौं, भदौ ९–प्रतिनिधिसभाको सोमबार बैठकमा सत्तारुढ नेकपाका सचेतक खगराज अधिकारीले अहिले सामाजिक संजालमा अराजकता व्याप्त रहेको र संवेदना हराएको टिप्पणी गरेका छन् ।

उनले देशका निर्वा्चित प्रधानमन्त्रीलाई अत्यन्तै असभ्य शैलीमा सराप्ने अपराधी मनोवृत्ति देखिएको भन्दै यस्ता मनोवृत्तिको भत्सर्ना गर्दै दोषीलाई कारबाहीको माग गरे ।

अर्को प्रसंगमा सांसद अधिकारीले देशमा डेंगुका प्रकोपले ठूल्ठूला सहरलाई आक्रान्त पारेको भन्दै धरान, झापा, विराटनर, पोखरादेखि पाल्पासम्म देखिएको डेंगुविरुद्ध अभियान प्रभावकारी बनाउन मन्त्रीको ध्यानाकर्षण गराए । उनले राप्ती स्वास्थ्य प्रतिष्ठानको नेतृत्व असक्षम रहेको भन्दै जनता उपचार पाउनबाट वञ्चित भएकोले त्यहाँको नेतृत्व परिवर्तन गर्न माग गरे ।

काश्मिर प्रकरणमा नेपालको दृष्टिकोण माग्दै सांसद
भारतको जम्वु काश्मिरको विषयमा भारतीय सरकारले गरेको निर्णयप्रति नेपाल सरकारको स्पस्ट दृष्टिकोण आउनु पर्ने भन्दै विपक्षी सांसदहरुले माग गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै राष्ट्रिय जनता पार्टी (राजापा) नेपालका सांसद महिन्द्र राय यादवले काश्मिरको वारेमा परराष्ट्र मन्त्रीले ‘नजिकबाट नियालीरहेका छौं’ भनेर बोलेकोे विषयमा स्पस्ट धारणा राख्न माग गरे ।

‘सरकारले नेपाली जनतालाई गुमराहमा पार्नु हुँदैन’, सांसद यादवले भने, ‘इपीजेका सदस्यले पूर्व र पश्चिमका समुदायलाई समेटेको छैन । एक पक्षिय छ । आफ्नो देशका ५२ प्रतिशत बढी मधेशीको प्रतिनिधित्व भएको छैन् । यही कारणले इपीजेले निकास पाउँदैन । यो नयाँ बनोस ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले एक साताअघि कांग्रेस सांसद प्रदीप गिरीले परराष्ट्र समितिमा दिएको अभिव्यक्तिलाई लिएर सरकारको धारणा मा गरे । उनले एक सांसदले बोलेको बिषयलाई हल्का रुपमा नलिन आग्रह गरे ।

‘यो सदनका एकजना प्रवुद्ध सदस्यले भारतले चाहेको खण्डमा भारतले नेपाललाई सिक्किम र भुटान बनाउँछ भन्नुभयो,’ सांसद लिङदेनको प्रश्न थियो, ‘के भारतले चाहेको वा सकेको दिन नेपाललाई सिक्किम वा भुटान बनाउन सक्छ ?’

उनले भारतीय एक उच्च कर्मचारीसँग भेट गर्न नेपालका पूर्वप्रधानमन्त्री एक जना पूर्वउपप्रधानमन्त्रीलाई लिएर होटलमा नै भेट्न जानुले कस्तो सन्देश दिँदैछ भनेर प्रश्न गरे ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले २०४५ सालको भदौ ९ गते नेमकिपाका नेता नारायणमान विजुक्छेसहति ६७ कार्यकर्तालाई झुटा मुद्धा लगाएर प्रहरीले थुनामा राख्दा भक्तपुर जिल्लाभरी प्रहरीको व्यवहार आजको काश्मिरमा जस्तै रहेको बताए ।

कांग्रेस सांसद मोहम्मद अफताव आलमले जुनदेशमा किसान र युवाको आँखामा आँसु हुन्छ त्यो देशको उन्नति नहुने दाबी गरे । उनले आज नेपालको हालत त्यस्तै रहेको भन्दै सरकारलाई गम्भीर हुन आग्रह गरे ।

‘उखु किसानको पैसा चिनी कारखानाले दिएको छैन । उनीहरु बिरामी भए भने उपचार गर्न पनि पैसा छैन भन्छन’, सांसद आलमले भने, ‘योभन्दा दुरावस्था र बिडम्वना केही हुन सक्छ ?’ उखु किसानको समस्यालाई सरकारले नबुझेको भन्दै नौजवानलाई रोजगारी नदिई पैसा बाँडेर केही देश समृद्ध नहुने दाबी गरे ।