देश

अष्ट्रेलीया भनेर इन्डोनेसीया पुर्याउने ६ जना पक्राउ

काठमाडौं, भदौ ९–अस्ट्रेलिया पुर्याइदिने भन्दै इन्डोनेसियामा लगेर तीनजना नेपालीलाई अलपत्र पार्ने एक भारतीयसहित छ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले भारत पठानकोट घर भई हाल इन्डोसियामै बस्दै आएका ३० वर्षीय परषोत्तम लालसहित ६ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा दोलखा गैरीमुदीका ३० वर्षीय शशी लामा भनिने शशी कुमार तामाङ, म्याग्दी बेनी नगरपालिका–९ का ३० वर्षीय डोलेन्द्र कार्की, पर्वत कुस्मा नगरपालिका–३ का २७ वर्षीय शिव शर्मा, काभ्रे चौरीदेउराली–९ कि २२ वर्षीय अस्मिरा चौलागाई र काभ्रे पनौती–१० का २८ वर्षीय अर्जुन कार्की छन्।

उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको हो। व्युरोका एसपी गोविन्द थपलियाका अनुसार उनीहरुको समूहले ६ जना नेपालीलाई अस्ट्रेलिया लैजाने भन्दै इन्डोनेसियामा लगेर अलपत्र पारेका थिए। ६ जनामध्ये तीनजना पीडित थिए भने अन्य तीन जना एजेन्टसँगै सम्बन्धित व्यक्ति थिए। उनीहरुलाई मलेसियामा रहेको नेपाली दूतावासको सहयोगमा नेपाल ल्याइएको एसपी थपलियाले बताए।

उनीहरुले नेपालको विभिन्न स्थानहरूबाट काठमाडौं ल्याउने साथै ‘जर्नी टु अस्ट्रेलिया’ नामको फेसबुक वेबपेज खोलेर विभिन्न आईडी प्रयोग गर्दै भिषा लगाइदिने बताउँदै आएको अनुसन्धानबाट खुलेको छ। उनले भिषा लगाउनका लागि भन्दै प्रतिव्यक्ति १५ लाखदेखि २० लाखसम्म रकम असुल गरेको खुलेको एसपी थपलियाले बताए ।

एसपी थपलियाले भने, ‘‘काठमाडौंबाट मलेसिया हुँदै इन्डोनेसियामा पुर्याइ पीडितहरुको राहदानी, नगद तथा भिषा समेतका कागजातहरु नियन्त्रणमा लिएर भारतीय मूलका व्यक्तिहरुसँगको मिलेमतोमा अपार्टमेन्टमा राखेका रहेछन्। त्यसपछि पर्याप्त खाना नदिने, बन्धक बनाउने, कुटपिट गर्ने, आर्थिक, शारीरिक तथा मानसिक शोषण गरेको सूचना पाएपछि हामी सक्रिय भएका थियौं।’’

अलपत्र नेपालीको उद्धार गरेपछि ठग्नेहरुको खोजी व्युरोले गरेको थियो। व्युरोले पक्राउ परेकाहरुविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको मुद्दा दायर गरी अनुसन्धान अगाडि बढाएको थपलियाले बताए ।