NRNA खबर देश विदेश

कोरोना संक्रमणबाट विदेशमा थप तीन नेपालीको मृत्यु

कोभिड-१९ को संक्रमणबाट विदेशमा थप तीन नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार कोरोना संक्रमणबाट यो साता बेलायतमा दुई र अल्जेरियामा एक गरी थप तीन जनाको मृत्यु भएको हो । योसहित २१ देशमा कोरोना संक्रमणका कारण निधन हुने नेपालीको संख्या ३३३ पुगेको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५८ हजार ८३२ नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये  ५६ हजार २४७ जना कोरोनामुक्त भएका छन् । यो कूल संक्रमितको ९४ प्रतिशत हो ।

गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै कोरोना भाइरसका कारण नेपालमा दुई हजार ३५ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या दुई लाख ७१ हजार ८०६ जना छन् भने दुई लाख ६६ हजार ८१२ अर्थात् ९८ दशमलव पाँच प्रतिशत कोरोनाबाट मुक्त भएको कोभिड-१९ उच्चस्तरीय समिति, गैरआवासीय नेपाली संघका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए । रासस

Featured