काठमाडौं, भदौ ९-नेपाली सेनाले आर्थिक वर्ष २०७५/०७६ मा बेरुजु फर्छ्यौटमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। नेपाली सेनाको नाममा कायम भएको कूल ९ अर्ब ३३ करोड ४४ लाख ५ हजार रुपैयाँ मध्ये उक्त आर्थिक वर्षमा ६ अर्ब २८ करोड ७६ लाख ६८ हजार रुपैयाँ बेरुजु फर्छ्यौट गर्न सफल भएको प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो।
आ.व. २०७५/०७६ मा ६० प्रतिशतको लक्ष्य राखिएकामा ७६.३६ बेरुजु फर्छ्यौट भएको र बाँकी बेरुजु मध्ये पनि ९७ प्रतिशत पेश्की बेरुजु रहेको उनले बताए। नेपाली सेनाले सङ्गठनको नाममा रहेको बेरुजु फर्छ्यौट गरी शून्य बनाउने र आगामी दिनमा बेरुजु नै हुन नदिने नीति बनाएर काम गरिरहेको छ।
सेनाको कल्याणकारी कोषतर्फको बेरुजु ७० करोड २० लाख ९३ हजार रुपैयाँ रहेकामा उक्त आ.व.मा ४४ करोड २० लाख ६० हजार रुपैयाँ फर्छ्यौट गरी ६२.९६ प्रतिशत प्रगति हासिल भएको जनाइएको छ।
पछिल्लो समय बेरुजु घटाउन सङ्गठन संवेदनशील र सक्रिय रहेको हुँदा बेरुजु फर्छ्यौटको अवस्था पछिल्लो समय निकै सुधारोन्मुख रहेको प्रवक्ता पाण्डेले बताए।
प्रतिक्रिया दिनुहोस