नेपाल सरकारले विश्व बैंकसँगको सहकार्यमा शहरी शासकीय र पूर्वाधार आयोजना सुरू गरेको छ । बुधबार शहरी विकास मन्त्रालयमा सचिव रमेशप्रसाद सिंह र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंककी सञ्चालक व्यवस्थापक लाडा स्ट्रेलकोभाले संयुक्त रूपमा आयोजनाको सुरूवात गरेका हुन् ।
राष्ट्रिय शहरी विकास रणनीति अन्तर्गत करिब साढे १७ अर्ब रूपैयाँ (१५ करोड डलर) बराबरको आयोजना सुरू गरिएको शहरी विकास मन्त्रालय र विश्व बैंकले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ । विश्व बैंकको वित्तीय सहयोग रहेको चार वर्षे यो आयोजनाको कार्यान्वयनले शहरी विकासलाई प्रवर्द्धन गर्नुका साथै कोभिडपछिको आर्थिक पुनर्लाभका लागि सहयोग पुग्ने उल्लेख गरेको छ ।
यो आयोजना कार्यान्वयनयन नगरपालिकाहरूलाई नै अग्रपंक्तिमा राखेर गरिने उल्लेख गरिएको छ । ‘तीब्र शहरीकरण, संघीयता र कोभिड महाब्याधिको समयमा, गुणस्तरीय शहरी सेवा प्रवाह गर्नु र जनताको आवश्यकताको उचित सम्बोधन गर्न आयोजना नतिजामुखी कार्यान्वयन गरिनेछ,’ सचिव सिंहले भने ।
यो कार्यक्रम नेपाल सरकारले सुरू गरेको रणनीतिक शहरी पूर्वाधार कार्यक्रमका लागि पूरक कार्यक्रम भएको उनले बताए । विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जार्भोसले यो आयोजनाले स्थानीयस्तरमा २० हजारभन्दा बढी जोखिममा परेका मानिसलाई ५० दिन बराबरको ज्याला आम्दानीमा सहयोग पुग्नुका साथै पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
प्रतिक्रिया दिनुहोस