देश

नेप्से हरियो बन्दा पनि १ सय ७ कम्पनीको शेयरमूल्यमा गिरावट

शेयरबजारमा नेप्सेले दिनहुँजसो नयाँ रेकर्ड कायम गरिरहेको अवस्थामा सोमबार पनि नेप्से सूचक २४४० दशमलव ८७ विन्दुमा रोकिएको छ। सूचक १६ दशमलव ०४ अंकले बढेर बजार हरियाली बन्दा पनि शेयरमूल्य बढेर नाफा कमाउने कम्पनीभन्दा मूल्य घट्ने कम्पनीको संख्या धेरै देखिएको छ ।

कारोबारमा आएका २ सय ८ कम्पनीमध्ये १ सय ७ कम्पनीको शेयरमूल्य घटेको छ भने ६२ कम्पनीको शेयरमूल्य बढेको छ । सोमबार २ सय ८ कम्पनीको १ करोड ९२ लाख ८५ हजार ५ सय ४ कित्ता शेयर ७२ हजार ७ सय ७३ पटक किनबेच हुँदा ८ अर्ब ९० करोड ३५ लाख ३८ हजार ७ सय ३१ रुपैयाँमा कारोबार भएको छ ।

कारोबार सुरु भएको ६ मिनेटमा नै २४ सय ५५ विन्दुको उचाइ छोएको नेप्से सूचक त्यसपछि भने घटबढ हुँदै २४२० दशमलव ८७ विन्दुमा आएर बन्द भएको हो । दिनभर उतारचढावपूर्ण अवस्थमा रहेको शेयरबजारमा पाँच कम्पनीको शेयरमूल्य बढेर हरियो देखिएको छ भने ७ कम्पनीको शेयरमूल्य घटेर रातो बनेको छ ।

यता कारोबारमा आएकामध्ये सबैभन्दा धेरै सिटिजन्स इन्भेस्टमेन्ट फण्डको १० प्रतिशतले शेयरमूल्य बढेर सकारात्मक सर्किट लाग्न पुग्यो भने छवटा कम्पनी सर्किटनजिक पुगे । त्यस्तै, शेयरमूल्य गुमाउने १ सय ७ कम्पनीमध्ये सबैभन्दा धेरै श्री इन्भेष्टमेन्ट फाइनान्स अगाडि छ । सो कम्पनीको  ६ दशमलव ९८ प्रतिशतले शेयरमूल्य घट्न पुग्यो ।

Featured