देश

नेकपा ओली समूहले २३ माघमा काठमाडौंमा आमसभा गर्ने

नेकपा ओली समूहले २३ माघमा आमसभा गर्ने भएको छ । नेकपा बागमती प्रदेश संगठन कमिटीको आयोजनामा २३ माघमा काठमाडौँको रत्नपार्कमा आमसभा गर्न लागेको हो ।

सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै नेकपा बागमती प्रदेश संगठन कमिटी अध्यक्ष आनन्दप्रसाद पोखरेलले वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिको वास्तविकता जनतालाई जानकारी गराउने उद्देश्यले आमसभा आयोजना गर्न लागिएको बताए ।

आमसभा सफल पार्न नेकपाका नेता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा ११ सय ११ सदस्य रहेको आमसभा परिचालन कमिटी गठन गरिएको उनले बताए ।

आमसभा परिचालन कमिटीका संयोजक कृष्णगोपाल श्रेष्ठले सभामा व्यक्तिकेन्द्रित आरोप–प्रत्यारोप नगरी विधिसम्मत राजनीतिक र व्यावहारिक कुरा गर्ने बताए । उनले २३ माघमा आमसभामा प्रधानमन्त्री ओलीले विशेष सम्बोधनमार्फत वर्तमान राजनीतिक परिवेशको सम्बन्धमा गोप्य रहेको कुरा सार्वजनिक गर्ने पनि बताए ।

नेकपाले २१ माघमा १० हजार मोटरसाइकल र्‍याली पनि गर्ने भएको छ । आमसभामा बागमती प्रदेशअन्तर्गतका १३ जिल्ला र उपत्यका विशेष प्रदेशका ४ जिल्ला गरी १७ जिल्लाका नेता कार्यकर्ताको नेतृत्वमा जनपरिचालन गरी सभालाई सफल बनाइने बताइएको छ ।

सभामा मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरू र सदस्यहरूले जनताको नेतृत्व गरी र्‍यालीसहित आमसभामा सहभागी हुने बताइएको छ ।

Featured