देश

दर्जन बढी प्राविधिक शिक्षालय, गुणस्तरमा चुनौति

बझाङ, भदौ ९–प्राविधिक शिक्षा विद्यार्थीको पहिलो रोजाईको विषय बनिरहेका बेला बझाङ जिल्लामा पनि प्राविधिक शिक्षा प्रदान गर्ने विद्यालय तथा कलेज बढिरहेका छन् । पछिल्लो समय मात्रै दर्जनौं विद्यालयहरुले टीएसएलसी तथा कक्षा १२ सम्म विभिन्न विषयमा प्राविधिक शिक्षा प्रदान गरिरहेका छन् ।

सुनकुडामा रहेको सुनकुडा माध्यमिक विद्यालयले कम्युटर शिक्षा प्रदान गरिरहेको छ । त्यस्तै शिक्षोदय माध्यमिक विद्यालय बाग्थालाले कक्षा ९ देखि कक्षा १२ सम्म कम्प्युटर इन्जिनियरिङ् (आईटी) अध्यापन गराइरहेको छ।

चौधारी माध्यामिक विद्यालय जुजीले आइएस्सी एजी, थलारा माध्यमिक विद्यालय थलाराले सिभिल इन्जिनियरीङ्, सुनिपिपल चौर माध्यमिक विद्यालय सुवेडाले कृषि शिक्षा प्रदान गरिरहेको छ । त्यस्तै भोपुरमा रहेको सत्यवादी माध्यमिक विद्यालयले आइएस्सी एजी र कृषि शिक्षा, कुल मष्टजन माध्यमिक विद्यालय भातेखोलाले कृषि विज्ञान अध्यापन गराइरहेको छ ।

यता बुंगलको सरस्वती माध्यमिक विद्यालय बिजगडामा कम्प्युटर शिक्षा, बान्नीचौर माध्यमिक विद्यालय बान्नीचौरमा सिभिल इन्जिनियरिङ् पठनपाठन भइरहेको छ । उता दुर्गा भवानी माध्यमिक विद्यालय तल्कोटमा पशुविज्ञान र जालपा माध्यमिक विद्यालय देवलमा आइएस्सी एजी र कृषि जेटिए तथा भेटनरी जेटिए पठनपाठन हुँदै आएको छ । त्यस्तै जिल्लाका अन्य केही विद्यालयहरुमा पनि फरक–फरक प्राविधिक धारका विषयहरु पठनपाठन भइरहेका छन् ।

दक्ष शिक्षकसँगै प्रयोगशाला, पुस्तकालय लगायतको अभावले गुणस्तरीय शिक्षा दिनमा भने निकै चुनौती रहेको शिक्षा विकास तथा समन्वय इकाई बझाङका प्राविधिक सहायक बसन्त सिंहको भनाई छ । चुनौतिका बाबजुत पनि विद्यार्थीहरुको रोजाई अनुसार विद्यालयले प्राप्त गरेका कोटामा राम्रो पठनपाठन भइरहेको प्राविधिक सहायक सिंह बताउँछन् ।

विद्यार्थीको रुची अनुसारका विषय पढाइ सुरु भए पनि विद्यार्थी अझैं जिल्ला बाहिरिन छोड्दैनन् । जिल्लामा प्राविधिक धारका यति धेरै विषयहरु पठनपाठन हुँदा पनि विद्यार्थी गुणस्तरिय शिक्षा पाइन्छ भन्ने विश्वास नरहेको सत्यवादी माद्यामिक विद्यालयका शिक्षक शेर बहादुर ओली बताउँछन् ।

त्यस्तै आफू बझाङमै रहँदा पनि धेरै विद्यालयले कृषि विज्ञान पढाउँदै आएको तर जिल्लाभन्दा केही बढी गुणस्तरीय शिक्षा पाइने हुनाले हाल कञ्चनपुर आएर पढिरहेको बताइन् ।

यता बालविकास माद्यामिक विद्यालयमा अध्यापन गराउँदै आएका नरेन्द्र उपाध्याय भने नजिकको तिर्थ हेला जस्तै भएको बताउँछन् । विद्यार्थी जिल्लामा भन्दा सुविधा उपभोग गर्न विकसित ठाउँतिर जाने गरेको तर दक्ष शिक्षक नपाइने र बाहिरबाट ल्याउँदा तलब बढी दिनुपर्ने बाध्यता भएकाले पनि गुणस्तरीय दिन कठिनाइ भएको शिक्षक उपाध्याय स्वीकार गर्छन् ।