देश

अलैंचीको मूल्यमा सुधार नभए पछि धनकुटाका कृषक निराश

धनकुटा, ८ माघ । कोरोना संक्रमण घट्दै जाला भारतीय नाका सहज होलान र अलैंचीको मूल्य बढ्ला भन्ने आशा गरेका धनकुटाका अलैंची किसान तथा व्यापारी अलैंचीको मूल्यमा सुधार नभए पछि निराश बनेका छन् ।

अलैंची उत्पादन पछिको मुख्य सिजनमा धनकुटामा २० हजार प्रतिमन मूल्य रहेको अलैंचीमा भारतीय नाका खुल्ला हुने र व्यापार सहज हुने आशाका साथ २७ हजार प्रतिमनमा अलैंचीको कारोबार हुन थाले पछि किसान तथा व्यापारी खुसी भएका थिए ।

तर एकाएक मूल्य फेरि ओरालो लाग्न थाले पछि किसान तथा व्यापारीलाई चिन्ता थपिएको छ । कोरोना महामारी घटे संगै भारतीय नाका सहज भएर भारतमा अलैंची पठाउन सकिने र किसान तथा व्यापारीहरुले बेर्हाेदै आएको घाटा कम होला भन्ने सोचेपनि अहिले ठीक उल्टो भएको अलैंची व्यवसायी संघ धनकुटाका अध्यक्ष इन्द्र तितुङ्गले बताए । अलैंचीको मूल्य घट्दै प्रतिमन २४ हजार तिर झर्न थालेपछि यसले किसान र व्यापारी दुबै मर्कामा परेको उनले बताए ।

मसलाजन्य वाली अन्र्तगत पर्ने अलैची खेती धनकुटाको करिब २ सय ४० हेक्टर क्षेत्रफलमा हुने गरेको छ भने करिब ४ हजार ६ सय किसान अलैंची खेतीमा सम्लगन रहेको अलैंची व्यावसायी संघ धनकुटाले जनाएको छ । कालो सुनको नामले परिचित अलैचीको भाउ केही वर्ष यता निरन्तर ओरालो लाग्न थालेपछि किसान र व्यापारी चिन्तित वनेका छन् ।

अलैचीको मुल्य घट्ता कतिपय किसानले लागत खर्च समेत उठाउन सकेका छैनन । केही वर्ष अघिसम्म किसानका लागि विदेशी मुद्राको गतिलो माध्यम वनेको अलैचीबाट व्यापार सुस्ताएसँगै करोडौं रुपैया नोक्सानी व्यहोर्नु परेको अध्यक्ष तितुङ्गले बताए ।

Featured