देश राजनीति

नेकपाले शासन गर्ने वैधानिकता गुमायो : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले नेकपाले शासन गर्ने वैधानिकता गुमाएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित प्रतिनिधिसभा विघटन र संवैधानिक अन्योल विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेता थापाले नेकपाले शासन गर्ने वैधानिकता र वैधता सकिएको बताएका हुन् ।

नेकपाले निर्वाचनबाट प्राप्त जनादेश गुमाएको उनको भनाइ छ । जनादेश गुमाउँदा राजनीतिक निष्ठाका आधारमा जनतासँग क्षमा माग्नुपर्ने भए पनि दुवै पक्षले क्षमा नमागेको उनले बताए । नेता थापाले सर्वोच्च अदालतमाथि सबैले आशाको नजरले हेरेको भन्दै संविधानअनुरूप सही फैसला गर्ने विश्वास व्यक्त गरे ।

त्यसैगरी, कार्यक्रममा बोल्दै कांग्रेसका नेता रमेश लेखकले संविधान र लोकतन्त्रमा कम विश्वास गर्नेले संसद विघटन गरेको बताए । कम्युनिस्टको अधिनायकवादी र सर्वसत्तावादी चेतनाका कारण संसद विघटन भएको उनको भनाइ छ । यसको सम्पूर्ण अपजस नेकपाले बोक्नुपर्ने उनले बताए ।

नेता लेखकले कांग्रेस संसद पुनर्स्थापनाका निम्ति भूमिका निर्वाह गर्ने र सर्वोच्च अदालतले संसद पुनर्स्थापना नगरे निर्वाचनमा सहभागी हुने बताए । पुनर्स्थापना पनि नहुने र निर्वाचन पनि नहुने अवस्थामा कांग्रेस आन्दोलनमार्फत संविधानलाई ट्रयाकमा ल्याउन तयार रहेको उनको भनाइ छ ।

Featured