देश

नेपाल पूर्वाधार विकास बैंकको आईपीओमा झण्डै १० करोड कित्ताका लागि आवेदन

काठमाडौं, ४ माघ-नेपाल पूर्वाधार विकास बैंकको आईपीओमा झण्डै १० करोड कित्ताका लागि आवेदन परेकाे छ । साे बैंककाे आईपीओका लागि तीन दिनमै ९ अर्ब ९४ करोड ६ लाख ७४ हजार रपैयाँबराबरको आवेदन परेकाे धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएकाे छ ।

क्यापिटलले दिएको जानकारीअनुसार आइतबार ४ः३० बजेसम्म  ९ करोड ९४ लाख ६ हजार ७ सय ४० कित्ताका लागि ८ लाख २ हजार ७ सय ८ जनाले  आवेदन दिएका हुन् । यो संख्या बैंकले माग गरेको आवेदनभन्दा २ करोड कित्ताले बढी हो । आइतबार बिहान १० बजेसम्म  ६ लाख ३९ हजार आवेदकबाट ७ करोड ९४ लाख कित्ता आईपीओका लागि आवेदन परेको थियो ।

बैंकले गत २ पुसदेखि ८ करोड कित्ता आईपीओ निष्कासन गरेको थियो । कुल ८ करोड कित्तामध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फण्डहरूका लागि आरक्षण छुट्याइएको छ । सर्वसाधारणका लागि भने ७ करोड ५८ लाख ४० हजार कित्ता छुट्याइएको छ ।

बैंकको आईपीओ खुला भएसँगै शेयर किन्नका लागि डिम्याट खोल्ने लगानीकर्ताहरूको भीड बैंकहरूमा बढ्न थालेको छ । सर्वसाधारणमा आकर्षणको केन्द्र बनेको उक्त शेयर न्यूनतम ५० कित्तादेखि अधिकतम ७० कित्तासम्म शेयर पाउन सक्ने भएसँगै शेयर किन्नेहरूको भीड बढेको हो ।

Featured