देश

चार पूर्वप्रधानन्यायाधीशले के भने हामीले सुनेका छैनाैँ : प्रधानन्यायाधीश राणा

काठमाडौं, ४ माघ-प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले चार पूर्वप्रधानन्यायाधीशले निकालेको विज्ञप्तिबारे आफू जानकार नभएको बताएका छन् । इजलासमा अधिवक्ता सुनिल पोखरेलले पूर्वप्रधानन्यायाधीशका विज्ञप्तिको प्रसंग उठाएपछि राणाले विज्ञप्ति आफ्नो दिल र दिमागमा नरहेको बताएका हुन् । ‘कसले के भन्यो हामीले सुनेका पनि छैनाैँ,  हाम्रो दिल र दिमागमा पनि छैन,’ राणाले भने ।

गत २४ पुसमा प्रधानमन्त्रीले केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भन्दै अदालतले संविधानको भावनाका आधारमा फैसला दिनुपर्ने मनसाय व्यक्त गर्दै पूर्वप्रधानन्यायाधीशहरुले विज्ञप्ति निकालेका थिए ।

पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ प्रतिनिधिसभा विघटनमा आकर्षित नहुने बताएका थिए ।

 ‘नेपालको संविधान २०७२ को धारा ७६ मा मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा सो प्रयोजनका लागि बाहेकको कुनै अवस्थामा पनि प्रतिनिधिसभा विघटन गर्ने अधिकार एवं व्यवस्था नगरिएको अवस्थामा पनि आकर्षित नहुने धारा ग्रहण गरी प्रतिनिधिसभा विघटन गरिएको पाइन्छ’, संयुक्त विज्ञप्तिमा भनिएको थियो ।

Featured