देश

मनकामनामा एकै दिन ५ हजार बढीले गरे दर्शन

गोरखाको शहीद लखन गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको संख्या बढ्दै गएको छ । कोरोना भाइरस (कोभिड-१९) का कारण ९ महिना बन्द भई गत २८ मंसिरदेखि खुला गरिएको मनकामना मन्दिरमा आउने दर्शनार्थीको संख्या बढ्दै गएको हो ।

हरेक दिन मनकामना मन्दिर दर्शन गर्न आउनेको संख्यामा वृद्धि हुँदै गएको मनकामना मन्दिरका मूल पुजारी इन्सान थापाले जानकारी दिए । उनका अनुसार शनिबार एकै दिन ५ हजारभन्दा बढी दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन् । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई मन्दिर दर्शनका लागि खुला गरिएको पुजारी थापाले बताए ।

यसैबीच, शनिवार मात्र चार हजारभन्दा बढी दर्शनार्थी मनकामना केबलकार चढेर मनकामना दर्शन गर्न पुगेका छन् । मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले शनिबार एकै दिन ४ हजार ५ सयले केबलकार चढेको बताए । उनका अनुसार कोरोना महामारीका कारण बन्द भएपछि सञ्चालनमा आएको केबलकार ४ हजार ५ सय जनाले चढेको पहिलोपटक हो ।

कोरोना महामारीअघि सार्वजनिक बिदा र शनिबारका दिन ४ हजार ५ सयभन्दा बढी दर्शनार्थी केबलकार चढेर मनकामना मन्दिर पुग्ने गर्दथे । सुरक्षा मापदण्डको पूर्ण पालन गर्दै केबलकार सञ्चालन गरिएको छ ।

मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि सञ्चालनमा रहेको मनकामना केलबकारको प्रदेशद्वार बटम स्टेशन चितवनको इच्छाकामना-४ चेरेसमा रहेको छ । केबलकारबाहेक मोटरबाटो र पैदलमार्फत पनि दर्शनार्थी मन्दिर पुग्ने गर्छन् ।

Featured