विदेश

थाइल्याण्डमा पक्राउ परे १९ रोहिङ्ग्या मुसलमान

एजेन्सी, २८ पुस-थाइल्याण्डमा गैरकानुनी रूपमा प्रवेश गरेको आरोपमा १९ रोहिङ्ग्या मुसलमान  र एक थाई महिला पक्राउ परेका प्रहरीले जानाकारी दिएको छ  ।

थाई प्रहरीले जारी राखेको कारबाहीको क्रममा बैंककको डोन मुएआङ जिल्लाको एउटा घरमा ती १९ रोहिङ्ग्या भेटिएका थिए ।  उक्त घरमा ती रोहिङ्ग्याहरूलाई शरण दिएको आरोपमा एक थाई महिला पनि पक्राउ परेकी हुन् ।

म्यानमारको पश्चिमी राज्य राखिनमा सन् २०१७ जारी रहेको सैनिक कारबाहीका क्रममा लगभग सात लाख ५० हजार रोहिङ्ग्या मुसलमान म्यानमारको सिमाना पार गर्दै बंगलादेशमा पुगेका थिए ।

यीमध्ये कैयौँ मानव तस्करहरूको साथमा लागेर थाइल्याण्डको बाटो प्रयोग गर्दै मलेसिया र इन्डोनेसिया पुग्ने यात्रामा लाग्ने निर्णय गर्दै आएका छन् । थाइल्याण्ड म्यानमारबाट भागेका मुस्लिम अल्पसंख्यक समुदायको तस्करी मार्ग बन्दै गएपछि चिन्ता बढेको प्रहरीले जनाएको छ ।

Featured