विदेश

जन्मदिनमा किम पार्टी महासचिवमा बढुवा, आधुनिक हतियार निर्माण गर्ने प्रतिबद्धता

एजेन्सी, २८ पुस-उत्तर कोरियाका नेता किम जोङ–उन सत्तारुढ वर्कर्स पार्टीको महासचिवमा बढुवा भएका छन् । यसअघि सो पदमा उनका हजुरबा किम इल–सङ र बाबु किम जोङ–इल पुगेका थिए ।

उत्तर कोरियाको बढ्दो आर्थिक चुनौतिबीच उनको शक्ति थप बलियो बनाउन यो कदम उठाएको अनुमान गरिएको छ । उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टीको बिरलै हुने महाधिवेशनले यो निर्णय लिएको हो ।

वर्कर्स पार्टीको महाधिवेशन २०१६ पनि पहिलो पटक भएको हो । बैठकमा किमले थप आधुनिक हतियार निर्माण गर्ने संकल्प गरेका छन् । उनले देशको आर्थिक विकासको लक्ष्य सार्वजनिक गरे भने पार्टीका नेताको जिम्मेवारी समेत फेरबदल गरे ।

यद्यपि यो फेरबदलबाट उत्तर कोरियाको समस्याको ठोस समाधान हुनसक्नेमा भने आशंका व्यक्त गरिएको छ । आर्थिक संकट समाधानका लागि कोरोना भाइरसका कारण अर्थतन्त्रमा परेको प्रभाव, प्राकृतिक संकट र अमेरिकासहित पश्चिमा राष्ट्रले पटक पटक लगाएको प्रतिबन्धलाई सामना गर्नसक्ने नीति आवश्यक भएको विश्लेषकहरुको भनाई छ ।

कोरियाको आधिकारिक समाचार एजेन्सी केसीएनएका अनुसार कंग्रेसले आइतबार बैठकको छैठौ दिन कमलाई नयाँ पदमा बढुवा गरेको हो । कंग्रेसले किमले देशको परमाणु निर्माण योजना पूरा गर्ने ऐतिहासिक मिशनलाई सफल पार्ने घोषणा गरेको उल्लेख गरेको छ ।

किम पहिलेदेखि नै पार्टीको शीर्ष नेता हुन् । सन् २०१६ मा पार्टी कंग्रेसका क्रममा उनलाई अध्यक्ष बनाइएको थियो । त्यसअघि उनले प्रथम सचिवका रुपमा पार्टीको नेतृत्व गरेका थिए ।

यद्यपि उत्तर कोरियामा महासचिव पदलाई सांकेतिक रुपमा बढी महत्वपूर्ण मानिन्छ । किनकि उत्तर कोरियामा यसअघि उनका बाबु र हजुरबा पार्टीको महासचिव बनेका थिए ।

किम जोङ–उन आफ्ना बाबुको निधनपछि सन् २०११ मा उत्तर कोरियाको सत्तामा आएका हुन् । कतिपयले भने सत्तामा उनको पकडलाई लिएर विभिन्न शंका गरिरहेका बेला उनी शक्तिशाली महासचिव बनेका हुन् ।

शुक्रबार जन्मदिन मनाएका उनले केही उच्च अधिकारीहरुलाई मृत्युदण्ड दिएर र केही आफ्ना विरोधीलाई दबाएर सत्तामा बलियो पकड बनाएका छन् ।

Featured