विदेश

संसद् हमलापछि ट्रम्पलाई राष्ट्रपतिबाट हटाउने माग तीव्र

एजेन्सी, २४ पुस-अमेरिकी कंग्रेसको दुवै सदनका विपक्षीहरूले डोनल्ड ट्रम्पलाई राष्ट्रपति पदबाट हटाउन माग गरेका छन् । बुधबार राष्ट्रपति निर्वाचित जो बाइडेनको जितलाई प्रमाणिकरण गर्न बसिरहेको दुवै सदनको संयुक्त बैठकका क्रममा संसद् भवनमा ट्रम्पका समर्थकहरूले हिंसात्मक आक्रमण गरेपछि विपक्षीहरु आक्रोशित बनेका छन् ।

सिनेटमा डेमोक्र्याटिक नेता चक सुमरले ट्रम्पलाई तत्काल हटाउनुपर्ने बताएका छन् । यस्तै सभामुख न्यान्सी पेलोसीले ट्रम्पलाई नहटाइए उनीमाथि महाअभियोग लगाउन सकिने बताएकी छन् । ट्रम्पलाई राष्ट्रपतिबाट हटाउन रिपब्लिकनहरूको समर्थन आवश्यक हुन्छ ।

यद्यपि केही रिपब्लिकन उनलाई हटाउनुपर्ने पक्षमा उभिएका छन् । अमेरिकी संसदमा भएको हमलाका क्रममा चार जनाको मृत्यु भएको छ भने अन्य ६८ जना पक्राउ परेका छन् ।

संसदमा हमला रोक्न नसकेको भन्दै प्रहरीको तीव्र आलोचना भएको छ । हाउस अफ रेप्रिजेन्टेटिभ्सको सुरक्षामा जिम्मेवार सुरक्षा प्रमुखले पदबाट राजीनामा दिएका छन् । सुमरले सिनेटका सुरक्षा प्रमुखलाई पनि हटाउन माग गरेका छन् । संसदमा हमलापछि ट्रम्प प्रशासनका केही अधिकारीहरूले राजीनामा दिएका छन् । राजीनामा दिनेमा यातायातमन्त्री एलेन चाओसमेत छन् ।

सिनेटर चक सुमरले एकदिन पनि ट्रम्पलाई राष्ट्रपतिका रूपम राख्नु नहुने बताएका छन् । ट्रम्पको कार्यकाल यही २० जनवरीमा सकिदैछ । तर त्यसअघि नै उनलाई हटाउनुपर्ने माग तीव्र भएको हो ।

ट्रम्पको मन्त्रिमण्डले अमेरिकी संविधानको २५ औं संशोधन प्रयोग गरेर राष्ट्रपतिलाई हटाउन सक्छ । सो संशोधनले मानसिक र शारीरिक समस्याका कारण काम गर्न नसक्ने अवस्थामा राष्ट्रपतिलाई हटाएर उपराष्ट्रपतिले कार्यभार सम्हाल्न सक्छन् ।

Featured