देश

रुबीभ्यालीको नेवेर गाउँको बाटो पहिराले अवरूद्ध

धादिङ, भदौ ८–उत्तरी धादिङको विकट रुबीभ्याली गाउँपालिका–५ नेवेर गाउँबाट अन्य गाउँ जाने एक मात्र बाटोमा पहिरो आएर थुनिएपछि सम्पर्क विच्छेद भएको छ ।

केही दिनदेखि निरन्तर परेको पानीले पहाड खसेर गणेश हिमाल खोला थुनिँदा उक्त स्थान पार गर्ने कुनै विकल्प छैन । पहिरो झरेर थुनिएपछि गाउँबाट अन्य गाउँसँग सम्पर्क विच्छेद भएको गाउँपालिका– ५ का वडाध्यक्ष धीरज तामाङले बताए ।

६५ घरधुरी रहेको नेवेर गाउँबाट अन्य गाउँ जाने एक मात्र तातोपानी हुँदै जाने बाटोमा आएको पहिरोले बाटो र खोलासमेत थुनिएकाले सँगै अन्य गाउँको सम्पर्क टुटेको स्थानीयवासी टिसमान तामाङले बताए ।

जिल्ला सदरमुकामबाट तीन दिनको पैदल दूरीमा रहेको नेवेर गाउँ गणेश हिमालको फेदीमा रहेको तामाङ समुदायको बस्ती हो । आवतजावत नै बन्द भएकाले गाउँमा कुनै समस्या तथा विपद् पर्दा सहयोगसमेत उपलब्ध गराउन नसकिने छ । (रासस)