देश

सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम

काठमाडौँ, भदौ ८-सुनको मूल्य प्रतितोला ७२ हजार ५ सय पुगेको छ। यो नेपाली बजारमा भएको अहिलेसम्मकै सबैभन्दा बढी हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले अहिलेसम्मकै सबैभन्दा बढी मुल्य सार्वजनिक गरेको हो।

यसअघि गत साउन ३१ गते प्रतितोला ७१ हजार ५ सय कायम भएको थियो। जुन यसअघिको सबैभन्दा उच्च मूल्य हो। त्यसपछि घटेर ७१ र भदौ ४ मा पुन ३ सय बढेर ७१ हजार ३ सयमा सिमित भएको सुनको मूल्य आइतबार पुन बढेको हो।

यस्तै, तेजावी सुनको मूल्य पनि बढेको छ। शुक्रबार ७१ हजार रहेको तेजावी सुनको मूल्य आइतबार ७२ हजार २ सय पुगेको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपालमा पनि मूल्य वृद्धि भएको हो। अन्तर्राष्ट्रिय बजारमा अहिले सुनको मूल्य प्रतिऔंस १५ सय २७ पुगेको छ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला ८ सय २५ रहेको चाँदी आज एकै तोलामा २५ रुपैयाँले बढेर ८ सय ५० पुगेको छ। चाँदीमा पनि यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो।