देश मनोरंजन

आठ महिनापछि खुल्यो चिडियाखाना

ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आठ महिनापछि स्वास्थ्य मापदण्ड अपनाई पुनः खुला गरिएको छ  । कोरोना भाइरसको जोखिमका कारण सो चिडियाखाना गत ७ चैतदेखि बन्द  थियो ।

खुला भएसँगै अवलोकनकर्ताले पहिलेजस्तै स्वतन्त्र हिँडडुल गर्न नपाउने चिडियाखानाले जनाएको छ । चिडियाखाना व्यवस्थापन प्रमुख डा. चिरञ्जीवी पोखरेलले कोरोनाको जोखिम अझै कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई चिडियाखाना खुला गरिएको जानकारी दिए ।

सुरक्षाका मापदण्डमा अवलोकनकर्ताले अनिवार्य मास्क ल्याउनुपर्ने, एकपटकमा ८ सय मानिसले मात्र अवलोकन गर्न पाइने, चिडियाखानाभित्र बसेर खान र जीवजनावरलाई खुवाउन, छुन नपाउने, एक व्यक्ति बढीमा दुईदेखि साढे दुई घण्टामा बाहिर निस्कनुपर्ने र बालबालिकालाई खेलाउन नपाउनेजस्ता रहेका छन् ।

भित्र जानेको सङ्ख्याजस्तै बाहिर निस्कनेको सङ्ख्या पनि गणना गरिनेछ । जति जना बाहिर निस्कन्छन् सोही बराबरको सङ्ख्यामा नयाँ अवलोकनकर्तालाई प्रवेश दिइने मापदण्ड रहेको छ ।  यसअघिझै हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुने गरी नै मापदण्ड तयार गरिएको भए पनि एकपटकमा केही सीमित व्यक्तिलाई मात्रै प्रवेशको व्यवस्था गरिएको छ ।

हाल चिडियाखानामा १ सय १० प्रजातिका १ हजार ६८ जीवजनावर रहेका छन् । त्यहाँका मुख्य आकर्षणको रूपमा बाघ, भालु, चितुवा र रातो हाब्रे छन् ।

ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ ।

चिडियाखाना अवलोकन गर्न विदेशीका लागि  ७ सय ५०, सार्क  देशका लागि ५ सय, नेपालीलाई  १ सय ५० र नेपाली विद्यार्थी र ज्येष्ठ नागरिकका लागि ९० शुल्क निर्धारण गरिइएको छ । वार्षिक ११ लाख दर्शकसम्म अवलोकन गर्न आउने यहाँ प्रवेश शुल्कबाट नै वार्षिक १५ देखि १६ करोडसम्मको कारोबार हुने गरेको छ ।

Featured