देश मनोरंजन

‘कहानी तिम्रो मेरो’ बनाउँदै विशाल, मुख्य भूमिकामा केकी र निराजन

निर्देशक विशाल भण्डारीको निर्देशनमा नयाँ चलचित्र बन्ने भएको छ । ‘कहानी तिम्रो मेरो’ नाम राखिएको चलचित्रलाई ‘थ्री प्रोडक्सन’ ले निर्माण गर्न लागेको हो ।

चलचित्रका लागि अभिनेत्री केकी अधिकारी र निराजन प्रधान पक्का भएका छन् । चलचित्रमा उनीहरूले मुख्य भूमिका निर्वाह गर्नेछन् । चलचित्रका लागि अन्य दुई मुख्य पात्रको छनोट हुन बाँकी छ । निर्माण पक्षले अहिलेका चल्तीका कलाकारलाई नै चलचित्रमा लिने सोच राखेको छ ।

कमेडी (रमपम) जनरामा निर्माण हुने यस चलचित्रको हाल स्क्रिप्ट तथा संवादमा काम भइरहेको छ । ठूलो टिमले नै चलचित्रको स्क्रिप्ट र संवादमा काम गरिरहेका छन् । चलचित्रको गीतसंगीतको काम पनि अहिले भइरहेको छ ।

निर्देशक भण्डारीको डेब्यू चलचित्र ‘कोहलपुर एक्सप्रेस’ ले अपेक्षित सफलता पाउन सकेन । उक्त चलचित्रलाई चोरीको आरोप लाग्यो । त्यसैले, दोस्रो चलचित्र निर्देशनका लागि विशाल केही सतर्क देखिन्छन् । आफूलाई प्रमाणित गर्न पनि विशाल यस चलचित्रलाई हरेकतर्फबाट उत्कृष्ट बनाउन मिहिनेत गरिरहेका छन् ।

उनी अहिले ‘कमेडी च्याम्पियन सिजन-२’ को तयारीमा पनि छन् । कमेडी च्याम्पियन सकिएलगत्तै विशालले ‘कहानी तिम्रो मेरो’को छायांकन सुरु गर्नेछन् । चलचित्रलाई २०७८ को दसैँमा रिलिज गर्ने  निर्माण पक्षले लक्ष्य राखेको छ ।

Featured