मनोरंजन विदेश

चर्चित डान्सर अस्ताद देबुको ७३ वर्षको उमेरमा निधन

एजेन्सी, २५ मंसिर-चर्चित भारतीय डान्सर अस्ताद देबुको ७३ वर्षको उमेरमा निधन भएको छ । उनको परिवारले सामाजिक सञ्जालमार्फत उनले १० डिसेम्बरको बिहानै उनको निधन भएको जानकारी दिएको छ । केही दिनदेखि बिरामी रहेका उनको मुम्बईस्थित आफ्नै निवासमा निधन भएको हो ।

देबुलाई आधुनिक भारतीय नृत्यको नयाँ व्याकरण सिर्जना गर्ने व्यक्तिका रुपमा लिइन्छ । सन् १९९५ मा देबुलाई समकालीन रचनात्मक नृत्यमा योगदान गरेबापत संगीत नाटक एकेडेमी सम्मान दिइएको थियो ।

संगीत नाटक एकेडेमीले देबुको थिएटर शैलीको नृत्यका लागि स्मरण गरिने उल्लेख गरेको छ । सन् २००७ मा उनलाई पद्मश्री सम्मान दिइएको थियो । देबुको जन्म १३ जुलाई, १९४७ मा गुजरातको नवसारीमा भएको थियो । उनले प्रह्लाद दासबाट प्रशिक्षण लिएका थिए ।

त्यसपछि उनी लण्डन स्कुल अफ कन्टेम्पोररी डान्समा आधुनिक नृत्यको तालिम लिएका थिए । त्यसका साथै उनले न्युयोर्कमा समेत नृत्य सिकेका थिए ।

Featured