देश

विराटनगरको ऐतिहाँसिक रथयात्रामा बाँतर सरदारको झाँकी

विराटनगर, भदौ ७–धार्मिक सहिष्णुता र आस्थाको प्रतिककोरुपमा स्थापित श्रीराधाकृष्ण रथयात्राको ५२ औं संस्करणमा शनिवार तराइको अल्पसंख्यक मधेशी दलित बाँतर समुदायले झाँकी प्रदर्शन गरेको छ ।

नेपाल बाँतर सरदार समाज कल्याणकारिणी समिति केन्द्रीय कार्यालय कटहरी–५, बातर सरदार समाज कल्याणकारिणी समिति मोरङ, र युवा समितिको अगुवाईमा झाँकी सहितको र्याली निकालिएको हो ।

विराटनगर स्थित हाटखोलाबाट झाँकी सहित निकालिएको र्याली सस्वती टोल तापडिया आँखा अस्पताल तिनपैनि हुँदै रथयात्रा सुरु हुने स्थान पोखरिया पुगेर अतिथि सदन, गोल्छा चोक, जलजला चोक, ट्राफिकचोक, महेन्द्र चोक, विजुलि अफिस, वरगाछी हुँदै पुन मन्दिर परिसरमा पुगेर सम्पन्न भएको थियो ।

र्यालीमा कटहरी गाउँपालिका अन्तर्गतका भौँडाहा, थलाह लगायत मोरङ जिल्लाका बाँतर समुदायका सयौँको सहभागिता रहेको थियो । आफ्नो कला संस्कृतिको संरक्षण, प्रवर्धनका लागि झाँकी निकालिएको नेपाल बाँतर सरदार समाज कल्याणकारिणी समितिका सचिव तथा बाँतर समुदायकान अगुवा सुभाषकुमार सरदारले जानकारी दिए ।

उनले विराटनगरमा सम्पन्न ऐतिहाँसिक रथयात्रा भब्यरुपमा सफल पार्न आफ्नो समुदायको पनि संस्कृति प्रदर्शन गरिएको जानकारी दिए । सरदारले र्याली तथा झँकीमा ५ सय बढी युवायुवतीको सहभागिता रहेको बताउँदै आगामी वर्षहरुमा समेत यसलाई निरन्तरता दिने बताए ।

रथ यात्राकै अवसरमा लाखे नाच, सन्थाल नाच, पञ्चेबाजा, मुडियारी नाँच लगायत विभिन्न जातजातीको सांस्कृतिक झँकी समेत निकालिएको छ। विराटनगरको वडानम्बर १,२ र ३ को संगमस्थल श्रीराधाकृष्ण मन्दिरबाट निकालिएको रथयात्राले मेनरोड सहित कोशीराजमार्गको विभिन्न भागको परिक्रमागर्दै साढे ४ घन्टाको समायवधिमा ७ किलोमिटरको दुरी तय गर्नेछ ।

विराटनगरको वडानम्बर १ पोखरियास्थित श्रीराधाकृष्ण मन्दिर परिसरबाट ८८ बर्षअघि शुरु भएको ऐतिहासिक खटयात्राले ५२ बर्षअघिबाट रथयात्राकोरुप लिएको थियो । विक्रमसम्बत १९८८ सालमा शुरु भएको खटयात्रालाई स्थानिय भूपालमानसिंह कार्की र सत्यनारायण धनावत सहितका समाजसेवी र धार्मिक ब्यक्तिहरुले २०२५ सालबाट रथयात्रामा रुपान्तरण गरेका थिए ।


त्यसअघि भगवान श्रीराधाकृष्णको मुर्तिलाई खटमा राखी कांधमा बोकेर नगरपरिक्रमा गराउने प्रचलन थियो । खटयात्रालाई रथयात्रामा रुपान्तरण गरिएयता परम्रागत शैलीको आधुनिक रथमा भगवान श्रीराधाकृष्णको मुर्ति राखेर नगर परिक्रमा गरिएको श्रीराधाकृष्ण समारोह समितिका अध्यक्ष बाबुराजा ओझाले जानकारी दिए ।

प्यागोडा शैलीमा निर्माण गरिएको रथको लम्बाई २२ फिट,चौडाई १४ फिट र उचाई १८ फिट रहेको छ । रथ तान्नकालागि रथको अग्रभाग जुवाको दुर्वतर्फ ७५ फिट लम्बाईको डोरी राखिएको थियो ।

रथयात्राको क्रममा श्रद्धालुहरुको अत्यधिक भीडभाड रहने गरेका कारण त्यसलाई ब्यवस्थित गर्न रथको दाँया भागमा पुरुष र बायाँपट्टिको भागमा महिलाहरुकालागि रथ तान्ने स्थान निर्धारण गरिएको थियो । रथयात्रालाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न सुरक्षा ब्यवस्था सुदृढ बनाइएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए ।

अपराहन्न ३ बजेबाट निकालिएको रथयात्रा प्रदेश नं.१ का प्रदेश प्रमुख गोविन्द तुम्बाहाङ, नेपाल सरकारका संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले उद्घाटन गरेका थिए । सो अबसरमा प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जिवन घिमिरे, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली लगायतको समेत उपस्थिती रहेको थियो ।