एजेन्सी, १९ मंसिर-अष्ट्रेलियासँगको टी-२० क्रिकेट सिरिजको पहिलो खेलमा भारत ११ रनले विजयी भएको छ । योसँगै तीन खेलको सिरिजमा भारतले १-० को अग्रता बनाएको छ ।
क्यानबेरामा भएको पहिलो टी-२० मा भारतले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन मात्र बनाउन सक्यो ।
उसका लागि कप्तान आरोन फिन्चले ३५, मोइसेस हेनरिक्सले ३०, डार्सी सर्टले ३४, स्टिभ स्मिथ, मिचेल स्वीपसन र सन एबटले १२/१२ रन बनाए ।
बलिङमा टी नटराजन, युजवेन्द्र चहलले ३र३ र दीपक चाहरले एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनायो ।
उसका लागि अलराउन्डर रवीन्द्र जडेजाले अविजित ४४, केएल राहुलले ५१, सञ्जु सामसनले २३, हार्दिक पाण्ड्याले १६ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
बलिङमा मोइसेस हेनरिक्सले ३, मिचेल स्टार्कले २, मिचेल स्वीपसेन र एडम जम्पाले एक/एक विकेट लिए । भारत र अष्ट्रेलियाबीचको दोस्रो टी-२० म्याच आइतबार हुनेछ ।
प्रतिक्रिया दिनुहोस