विदेश

जनवरीदेखि कोरोनाको खोप दिने क्यानडाको तयारी

एजेन्सी, १९ मंसिर-क्यानडा सरकारले आगामी जनवरीदेखि आफ्नो देशमा कारोना विरुद्धको खोप दिने तयारी गरेको छ । क्यानडामा खोप वितरण कार्यको जिम्मेवारी पाएका मेजर जनरल डेनी फोर्टीनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा खोप वितरण गर्नेगरी तयारी भइरहेको जानकारी दिएका हुन् ।

‘यो धेरै गाह्रो काम हो, हामी गरिरहेका छौँ, जनवरीमा खोप आउने र तत्कालै हामीले वितरण गर्नेगरी तयारी गरिरहेका छौँ,’ उनले भने । उनलाई क्यानडाको सरकारले गत हप्ता सार्वजनिक स्वास्थ्य सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी निकायको उपाध्यक्षको रूपमा नियुक्त गरेको थियो ।

सरकारी अधिकारी र सेनासँग मिलेर त्यस सम्बन्धी काम गर्ने जिम्मेवारीसमेत उनलाई दिइएको छ । उनले ७ डिसेम्बरदेखि यस सम्बन्धी कामका लागि क्यानडाको सेना खटिने र डिसेम्बर २५ सम्ममा सबै तयारी पूरा हुने पनि विश्वास व्यक्त गरे ।

क्यानडामा अहिलेसम्म ३ लाख ९० हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने १२ हजार ३ सय भन्दा बढीको मृत्यु भएको छ ।

Featured