NRNA खबर देश विदेश

अपांगता भएका विद्यार्थीसँग हातेमालो गर्नेलाई पुरस्कृत गरिने

जापानमा प्राध्यापनरत लेखक तथा प्राध्यापक कमल लामिछानेले अपांगता भएका विद्यार्थीसँग हातेमालो गर्ने विद्यार्थी, शिक्षक र सञ्चारकर्मीलाई पुरस्कृत गर्ने घोषणा गरेका छन् ।

अपाङ्ग दिवसको अवसर पारेर उनीहरुलाई पुस्कृत गर्ने लामिछानेले विज्ञप्तिमार्फत जनाएका हुन् । उनका अनुसार, सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षक, अपांगता भएका विद्यार्थीसँग हातेमालो गर्ने विद्यार्थी र सञ्चारकर्मबाट अपांगता भएका व्यक्तिप्रति सकारात्मक सन्देश प्रवाहित गर्ने सञ्चारकर्मीलाई पुरस्कृत गरिनेछ ।

लामिछानेले विज्ञप्तिमार्फत देशभर समावेशी तथा एकीकृत शिक्षा कार्यक्रम सञ्चालन गर्ने तीन सयभन्दा बढी विद्यालयमा अध्यापनरत शिक्षकमध्ये एकजनालाई ‘अन्र्तदृष्टि नमुना शिक्षक पुरस्कार’ प्रदान गर्ने र तिनै विद्यालयमा अध्ययनरत अपाङ्ग विद्यार्थीहरुसँग हातेमालो गर्दै आएका अपाङ्गता नभएका एकजना विद्यार्थीलाई पुरस्कृत गर्ने गरी ‘अन्र्तदृष्टि हातेमालो पुरस्कार’ स्थापना गरेका छन् ।

त्यसैगरी, पत्रकारिता माध्यमबाट अपाङ्गता भएका व्यक्तिप्रति सकरात्मक सोच र दृष्टिकोणसहित खोज, अन्वेषण तथा समतामूलक समाजको एक अभिन्न अंग बनाउन भूमिका खेल्ने पत्रकारमध्ये एक जनालाई पुरस्कृत गर्ने अन्र्तदृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार पनि स्थापना गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् । गत बर्ष प्रकाशित आफ्नो पुस्तक अन्र्तदृष्टिकै नामबाट लामिछानेले पुरस्कार घोषणा गरेका हुन् ।

Featured