देश

बर्दिया कारागारमा क्षमताभन्दा बढी बन्दी

बर्दीया, भदौ ७–बर्दियाको कारागारमा क्षमताभन्दा बढी बन्दी भएपछि जेल प्रशासनलाई पनि व्यवस्थापनको समस्या भएको छ । जिल्लाको एक मात्र कारागारमा १ सय पुरुष र २५ महिला गरी १२५ को क्षमता रहे पनि अहिले २६० पुरुष र १२ महिलासहित २७२ बन्दीबन्दी रहेका छन् ।

जिल्ला कारागार बर्दियाका निमित्त जेलर डिल्ली पौडेलले कारागारको भवन पुरानो र क्षमताभन्दा बढी बन्दी हुँदा व्यवस्थापन गर्न समस्या भइरहेको बताए । उनले भने, ‘बर्दिया जिल्लामा घर भएका बन्दी अन्यत्र जान नचाहेकाले पनि क्षमताभन्दा बढी बन्दी राख्दा समस्या आएको छ ।’

कारागारको क्षमताभन्दा बढी बन्दी हुँदा आफूहरुले अनेक समस्या झेल्नुपरेको उनीहरूको गुनासो छ । क्षमताभन्दा बढी बन्दी भएपछि शौचालय, विद्युत्, खानेपानी र स्वास्थ्योपचारमा समस्या हुने गरेको कारागारका बन्दी सुमन थाररूले बताए । उनी भन्छन्, ‘‘शौचालय जानसमेत पालो पर्खनुपरेको छ । पर्याप्त पानी नहुँदा दुर्गन्ध फैलने गर्छ ।’ (रासस)

Featured