देश

दाङका २८ वडामा सचिव नहुँदा कार्यसम्पादनमा समस्या

तुलसीपुर, भदौ ७–दाङका एक सय वडामध्ये २८ वडामा अझै सचिव पुग्न सकेका छैनन् । दाङका सुगम स्थानीय तहबाहेक विकट क्षेत्रका स्थानीय तहमा अझै पनि वडा सचिव नपुग्दा कार्यसम्पादनमा समस्या भएको छ ।

वडामा सचिव नआउँदा एउटै कर्मचारीले धेरै वडामा काम गर्नुपर्ने अवस्था छ । अहिले वडा सरकार प्राविधिकले हाँकिरहेका छन् । ग्रामीण क्षेत्रमा कर्मचारी जान नमान्ने तर सुगम क्षेत्रका स्थानीय तहमा जान कर्मचारी हानथाप गर्ने प्रवृति छ । केही समयअघि काम गरेका कर्मचारी पनि समायोजनपश्चात् सरुवा भएर अन्यत्र गएपछि दाङका वडा सचिवविहीन बन्न पुगेका हुन् ।

दाङको विकट क्षेत्र राजपुर गाउँपालिका–६ बाहेक अन्य सबै वडामा अहिले प्राविधिक कर्मचारीले सचिवको जिम्मेवारी सम्हाल्दै आएका छन् । दस स्थानीय तहमध्ये सुगम स्थानीय तहका रुपमा रहेका तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका र दङ्गीशरण गाउँपालिकाका सबै वडामा सचिव पुगेका छन् । तुलसीपुर र घोराहीका १९र१९ र दङ्गीशरणका सातवटै वडामा सचिव पुगेका छन् । अन्य सातवटा गाउँपालिकाका केही वडामा भने अझै पनि वडा सचिव पुग्न सकेका छैनन् ।

अहिले सचिव नहुँदा पञ्जीकरणको काम प्रभावित हुने गरेको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बताए । ‘पञ्जीकरणको काम गर्न स्थायी कर्मचारीको हस्ताक्षर आवश्यक पर्छ,’ उनले भने, ‘त्यसले गर्दा पनि स्थायी कर्मचारीका रुपमा रहेका प्राविधिकलाई पनि प्रयोग गर्ने गरिएको छ ।’ वडाध्यक्षले सिफारिस गर्ने र एकजना सचिव वा सरकारी कर्मचारीको हस्ताक्षर आवश्यक पर्ने उनको भनाइ छ । (रासस)