देश

रात्रिकालीन व्यवसाय खोल्ला गर्नुपर्ने ठमेलका व्यवसायीको माग

ठमेल क्षेत्रमा रात्रिकालीन व्यवसाय गर्दै आएका व्यवसायीले व्यवसाय खोल्न पाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेका छन् । कोभिड संक्रमणको जोखिमका कारण ८ महिनादेखि व्यवसाय बन्द हुँदा आर्थिक रूपमा समस्या परेको भन्दै व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग राखेका हुन् ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले अब पनि व्यवसाय पुनः सञ्चालन गर्न नपाए रोगले भन्दा भोकले मर्नुपर्ने स्थिति आउने बताए । ठमेलको रात्रिकालीन व्यवसाय पूर्ण रूपमा खुल्ला गर्न व्यवसायीले माग गरेका छन् । सबै आधिकारिक निकायमा ज्ञापनपत्र बुझाउँदासमेत सुनुवाइ नभएकाले विरोध प्रदर्शनमा आउन बाध्य भएको पनि व्यवसायीको भनाइ छ । अध्यक्ष राणाले सीसीएमसीबाट निर्णय नभएसम्म आन्दोलनलाई जारी राख्ने बताए ।

रात्रिकालीन व्यवसायीले विभिन्न नारा लेखिएका व्यानर लिएर सडक छेउमा उभिएर प्रदर्शन गरेका हुन् । ‘काम छैन दाम छैन’, ‘जनता कोरोनाले होइन लापरवाहीले मर्दैछन’, ‘पहिलाकै अवस्थामा व्यवसाय खोल्न देऊ’, ‘यत्रो महिना बन्द गराएर कर र भाडा कसरी तिर्ने’, ‘सरकार व्यवसाय खोलौँ की आत्महत्या गरौँ’, ‘रोग भन्दा भोक ठूलो’ लेखिएका ब्यानर लिएर व्यवसायी सडक छेउमा उभिएका थिए ।

Featured