देश राजनीति

नेता पौडेलको गिरफ्तारी प्रधानमन्त्रीलाई महँगो पर्नेछ : गगन थापा

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस नेता गगन थापाले वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई महँगो पर्ने बताएका छन् । पुल उद्घाटनका लागि गृहजिल्ला तनहुँ पुगेका पौडेललाई निषेधाज्ञा उल्लंघन गरेको भन्दै बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेता थापाले पौडेलको गिरफ्तारी नियोजित, राजनीतिक प्रतिशोध र शक्ति उन्माद भएको बताएका छन् । नेता पौडेलको गिरफ्तारीपछि सामाजिक संजालमार्फत प्रतिक्रिया दिँदै उनले यस घटनाले सरकारको चरित्रलाई उदांगो बनाएको उल्लेख गरेका छन् ।

‘नेका वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया हुनै सक्दैन, होइन,’ उनले भनेका छन्, ‘यो नियोजित हो, राजनीतिक प्रतिशोध हो, शक्ति उन्माद हो । यसले यो सरकारको चरित्रलाई उदाङ्गो बनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली यो तपाईंका लागि निकै महँगो पर्नेछ ।’

त्यस्तै, बुधबार विज्ञप्ति निकालेर कांग्रेस सभापति शेरबहादुर देउवाले नेता पौडेललाई गरिएको दुर्व्यवहार र गिरफ्तारीप्रति आपत्ति जनाए । देउवाले तत्काल पौडेललाई रिहा नगरे उत्पन्न हुने परिस्थितिको सामनाका लागि तयार हुन सरकारलाई चेतावनीसमेत दिएका छन् ।

त्यस्तै, कांग्रेस महामन्त्री विमलेन्द्र निधिले पनि नेता पौडेलसहितलाई प्रहरीले गिरफ्तार गरेकोप्रति विरोध जनाएका छन् । उनले स्थानीय तहले निर्माण गरेको र स्थानीय तहले नै निर्णय एवं आयोजना गरेको पुल उद्घाटनलाई रोक्नु र थुन्नु संघीयताविरोधी र तानाशाही काम भएको बताएका छन् ।

बुधबार दिउँसो गिरफ्तार भएका नेता पौडेललाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । पौडेलसहित तनहुँका कार्यवाहक जिल्ला सभापति जित आले पनि प्रहरीको नियन्त्रणमा  छन् ।

Featured