देश

टीभीदेखि गाडीसम्मको बिक्री मूल्य भन्सारमै घोषणा गर्नुपर्ने

काठमाडौँ, भदौ ७–मुलुकमा न्यून आयात मूल्य देखाएर महँगो मूल्य टेलिभिजन (टिभी)सहितका इलेक्ट्रोनिक वस्तुहरू र सवारी साधन बेच्ने क्रम बढेपछि सरकारले भन्सारमा नै अधिकतम बिक्री मूल्य (एमआरपी) घोषणा गर्नुपर्ने नियम बाध्यकारी बनाएको छ ।

भन्सार विभागले हालै देशभरिका भन्सार कार्यालयलाई परिपत्र गरि टीभी, एयरकन्डिसन (एसी) सहित ११ किसिमका वस्तु र सवारी साधनहरूको अधिकतम मूल्य (एमआरपी) भन्सारमा नै घोषणा गर्नुपर्ने व्यवस्था लागू गरेको हो ।

नेपालका सवारी साधन विक्रेताहरूको संगठन नाडा अटोमोबाइल्स एसोसियनले सवारी साधानहरूको मेला ‘नाडा अटो शो’ गर्नुभन्दा ठिक अघि सरकारले लागू गरेको एमआरपी अटो शोकै लागि भनेर ल्याइने सवारी साधनको मूल्यमा प्रभाव पार्ने भएको छ ।

नेपालमा बिक्री हुने सवारी साधनहरूमा अत्याधिक नाफा लिइने गरेको गुनासो बढेपछि सरकारले कडाइ गरेको हो ।

यो व्यवस्था लागू भएपछि भन्सारमा घोषणा गरिएको भन्दा बढी मूल्यमा सामान बेच्न पाइने छ । आयातकर्ताले नेपालमा बिक्री गरिने अधिकतम खुद्रा बिक्री मूल्य आयातकै अवस्थामा सम्बन्धित भन्सार कार्यालयमा अनिवार्य घोषणा गर्नुपर्ने नेपाल सरकारले तोक्नसक्ने कानुनी व्यवस्थालाई टेकेर यो निर्णय गरिएको हो ।

अधिकतम बिक्री मूल्यमा भन्सार विन्दुमा तिरिने भन्सार, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर (भ्याट), ढुवानी भाडासमेत जोडेर कालोबजारी (नियन्त्रण) ऐनबमोजिक २० प्रतिशतमा नबढ्ने गरी नाफासमेत समायोजन गरेर बिक्री मूल्य राख्न पाइने व्यवस्था छ ।

भन्सारमा नै अधिकतम बिक्री मूल्य घोषणा गर्नुपर्ने भनेर तोकिएका वस्तुहरूमा सबै प्रकारका टीभी, एयर कन्डिसन (घरायसी), रेफ्रिजेरेटर (घरायसी), वासिङ मेसिन (घरायसी), माइक्रो ओभन, सबै प्रकारका इनर्जी ड्रिंक्स, मार्बल, ग्रेनाइट र टायल्सहरू, कुकिङ रेन्जका उपकरणहरू, भान्सामा प्रयोग हुने चिम्नी, डिजिटल र भिडियो क्यामेराहरू र सवारी साधनहरू रहेका छन् ।

यी वस्तुहरू भन्सारमा तोकिएको एमआरपीभन्दा कममा बेच्न पाइन्छ, बढी मूल्य लिएको पाइएमा सरकारले कालोबजारी ऐनअन्तर्गत कारबाही गर्ने व्यवस्था आर्थिक ऐनमा गरिएको छ ।

Featured