देश मनोरंजन

प्रकाश र अनिताको ‘फुटेको चुरा’मा रानी बनिन् नम्रता

गायक तथा संगीतकार प्रकाश सपुतको नयाँ गीत सार्वजनिक भएको छ । सोमबार सार्वजनिक गरिएको ‘फुटेको चुरा’ बोलको गीतमा प्रकाशसँगै गायिका अनिता चलाउनेको स्वर सुन्न सकिन्छ । गीतको शब्द तथा संगीत सपुतले नै तयार गरेका हुन् ।

सार्वजनिक गीतको भिडियोमा प्रकाश र अनितासँगै अभिनेत्री नम्रता श्रेष्ठ र मोडल कविता नेपाली फिचर्ड भएका छन् । भिडियोमा महारानी बनेकी नम्रताले आफ्नै सुरक्षामा खटिएका सेना प्रकाशलाई मन पराएपछि हुने घटनाक्रमलाई देखाइएको छ ।

प्रकाशले नै निर्देशन गरेको भिडियोको कन्सेप्ट पनि उनैले तयार गरेका हुन् । भिडियोमा गम्भिर बिष्टले करियोग्राफी गरेका छन् । सुनिल बिक सहायक निर्देशक रहेको भिडियोमम सुबोल थापाले सहायक करियोग्राफरको रूपमा काम गरेका छन् ।

नवराज उप्रेतीले खिचेको भिडियोलाई प्रवीण भट्टले सम्पादन गरेका छन् । भिडियोको कलरिङ श्याम कुँवरले गरेका हुन् । युट्युबमा सार्वजनिक भएको छोटो समयमा नै यस गीतको भिडियोले राम्रो दर्शक पाएको छ । रिलिजको केही घण्टामा नै युट्युब ट्रेण्डिङमा छिरेको यस भिडियोले भ्युज र ट्रेण्डिङको उकालो यात्रा तय गरिरहेको छ ।

गीत तथा भिडियोलाई धेरैले उत्कृष्ट भएको प्रतिक्रिया दिएका छन् । धेरैले यस गीतको शब्ददेखि संगीतसम्मलाई तारिफ गरेका छन् । भिडियोको कन्सेप्ट र करियोग्राफीलाई पनि दर्शकले मन पराएका छन् ।

Featured