देश

नक्कली नोट बनाउने दुई भारतीय नागरिकसहित तीन जना पक्राउ

नेपाली एक हजारका नक्कली नोट बनाएर बजारमा सामान खरिद गरेका अभियोगमा दुई भारतीयसहित एक नेपाली युवकलाई प्रहरीले पक्राउ गरेको छ । आज जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नक्कली नोट, एक थान ल्यापटप, प्रिन्ट गर्ने मेसिनसहित कागजात र अभियुक्तलाई सार्वजनिक गरिएको छ ।

पक्राउ पर्नेमा भारतको बरेलीका अनुज शर्मा र उनकी श्रीमती रितिका बम तथा भीमदत्त नगरपालिका–१८ बस्ने दीपक नाथ रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले बताए । ‘अभियुक्तले ग्रामीण भेग, वृद्ध तथा बालबालिका रहेको पसलमा गई नक्कली नोटले सामान खरिद गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ प्रहरी उपरीक्षक मरासिनीले भने, ‘भारतीय नागरिक शर्मा र बम (श्रीमान्–श्रीमती) यहाँ डेरा गरी उक्त अवैध गतिविधिमा संलग्न रहँदै आएको देखिएको छ ।’

त्यसैगरी, प्रहरीले बेदकोट नगरपालिका–५ पोलखरीमा गत कात्तिक १९ गते पुष्करसिंह बोहराको घरमा सीआइबीका प्रहरी भन्दै पेस्तोल देखाएर लुटपाट गर्ने गिरोहका फरार अभियुक्त शुक्लाफाँटा नगरपालिका–५ का २६ वर्षीय रवीन्द्र साउदलाई पक्राउ गरेको छ । फरार रहेका साउदलाई प्रहरी टोलीले यहाँको बेलौरी नगरपालिका–८ पचुईबाट पक्राउ गरेको हो । सो घटनाका तीनजना अभियुक्तलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो ।

Featured