देश

कृषि विकास बैंक ह्याकिङ प्रकरण : फरार प्रतिवादी एक वर्षपछि पक्राउ

कृषि विकास बैंकको सूचना प्रणालीमा अनधिकृत पहुँच (ह्याकिङ) राखी रकम रकमान्तर गरी भुक्तानी लिने कार्यमा संलग्न रही फरार रहेका एक जनालाई प्रहरीले एक वर्षपछि पक्राउ गरेको छ । धादिङकाे रुबिभ्याली गाउँपालिका-१ बस्ने ५४ वर्षीय खम्ब घलेलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

कृषि विकास बैंक मुख्य कार्यालय तथा शाखा कार्यालय न्यूरोडबाट आपराधिक समूहका व्यक्तिहरूले संगठित रूपमा बैंकको वित्तीय प्रणालीमा अनधिकृत पहुँच राखी विभिन्न व्यक्तिहरूको खातामा रकम रकमान्तर गरी भुक्तानी लिने कार्यमा संलग्न रही फरार रहेका घलेलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं स्वयम्भूबाट पक्राउ गरेको हो ।

७ असोज २०७६ मा कृषि विकास शाखा कार्यालय न्यूरोडमा सुनिता श्रेष्ठको खातामा ४९ लाख ५० हजार रुपैयाँ रकमान्तर भएको र त्यसबाट ९ लाख ५० हजार रुपैयाँ भुक्तानी लिएको, श्रवनकुमार श्रेष्ठको खातामा रकमान्तर गर्न २० लाखको चेक पेस गरेको अवस्थामा सिस्टम चेक गर्दा सुनितासमेतका व्यक्तिहरूको खातामा बैंकको मौज्दातबाट विभिन्न मितिमा ४ करोड ८८ लाख ४६ हजार रुपैयाँ रकमान्तर गरी भुक्तानी लिएको भेटिएको थियो ।

उक्त कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ७ असोज २०७६ मा श्रवन कुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशंकर पन्जासमेतलाई पक्राउ गरी उनीहरूलाई संगठित अपराधसमेतकाे कसुरमा अनुसन्धान कारबाहीका लागि परिसर पठाइएको थियो । सोही घटनामा संलग्न फरार प्रतिवादी घलेलाई पक्राउ गरी संगठित अपराधसमेतका कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला अदालत काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

Featured