देश मनोरंजन

‘रेड वाइन’ : बाहिरिए पल, भित्रिए पुष्प

काठमाडौं, १४ मंसिर-छायांकनको तयारीमा रहेको चलचित्र ‘रेड वाइन’बाट अभिनेता पल शाह बाहिरिएका छन् । पल बाहिरिएसँगै निर्माण पक्षले अभिनेता पुष्प खड्कालाई चलचित्रमा अनुबन्धन गरेको छ । पुष्पले केही दिनअगाडि निर्माण पक्षसँग कागजी सम्झौतासमेत गरिसकेका छन् ।

चलचित्रको कथावस्तु परिवर्तनमा पल हावी बनेपछि निर्माण पक्षले पलको विकल्प खोजेको हो । चलचित्रमा अभिनेत्रीको भूमिका सशक्त छ । त्यसैले पलले चलचित्रको कथामा परिवर्तन गर्न दबाब दिएका थिए ।

चलचित्रमा अभिनेत्रीको रूपमा साम्राज्ञी राज्यलक्ष्मी शाह पक्का छिन् । पल र साम्राज्ञीले पहिलो पटक एकसाथ काम गर्ने तयारी गरेका थिए । तर, पल बाहिरिएसँगै उनीहरूको सहकार्य हुन सकेन ।

पुष्प र साम्राज्ञीले भने चलचित्र ‘मारुनी’मा एकसाथ काम गरेका छन् । उक्त चलचित्रबाट पुष्प र साम्राज्ञी दुवैले चर्चा कमाएका थिए । चलचित्रले हलमा औसत व्यापार गरेको थियो ।

रमेश एमके पौडेलको निर्देशनमा बन्न लागेको ‘रेड वाइन’लाई नेपाल र अमेरिकामा खिचिनेछ । चलचित्रमा सन्दीप क्षत्रीको पनि मुख्य भूमिका रहनेछ । पासाङ लामा र आर्यन पौडेलको लगानी रहने चलचित्रको स्क्रिप्ट सविर श्रेष्ठले लेखेका हुन् ।

Featured