देश

५४ वर्षपछि उद्योग वाणिज्य महासंघको नेतृत्वमा गोल्छा, २७ वर्षमा शेखरले पूरा गरे बुवाको सपना

काठमाडौं, १३ मंसिर-नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको जिम्मेवारीमा शेखर गोल्छा आएका छन् । सन् २०१७ मन भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित गोल्छा महासंघको विधानअनुसार स्वत: अध्यक्षको जिम्मेवारी पाएका हुन् । उनले त्यस समयमा ५० प्रतिशत मतभार रहेको जिल्ला/नगरमा ६१ प्रतिशत, ३० प्रतिशत मतभार रहेको एसोसिएटमा ६० प्रतिशत र २० प्रतिशत मतभार रहेको वस्तुगतमा ४७ प्रतिशत मत ल्याएका थिए ।

अबको ३ वर्षसम्म महासंघको नेतृत्व गोल्छाले गर्ने छन् । शेखरले महासंघको नेतृत्व गर्दैगर्दा परिवारभित्रको एउटा सपना पनि पूरा भएको छ । यसअघि शेखर स्मरण गर्दै भनेका थिए, `नेपाल उद्योग वाणिज्य महासंघ, नेपाली कच्चा पदार्थ केन्द्रित उद्योगको विस्तार, रोजगारी सिर्जना गर्ने विषय’ हजुरबुबा रामलाल गोल्छासहितको ‘किचन मिटिङ’का विषय थिए ।

महासंघ स्थापनाकालदेखि र तदर्थ समितिमा समेत गोल्छा पुस्ताको संलग्नता रहे पनि अध्यक्ष हुने माैका पाएका थिएनन् । नेपालमा रुघुपति जुटमिलको आरम्भ गरेर पहिलो उद्योगको रूपमा गोल्छाका हजुरबुवा रामलाल गोल्छाले उद्योगको सुरूवात गरेको थिए । त्यही गोल्छा परिवारका तेस्रो पुस्ताका शेखरले निजी क्षेत्रको छाता संगठन नेपाल उद्याेग वाणिज्य महासंघको नेतृत्व गर्न लागेका हुन् ।

परिवारभित्रबाट पटकपटक चाहना र प्रतिस्पर्धा हुँदाहुँदै पनि गोल्छा परिवार अध्यक्षको जिम्मेवारी सम्हाल्न सकेको थिएन । महासंघका थोरै कार्यसमितिमा मात्र गोल्छा परिवारको उपस्थिति नरहेको होला । तर, अध्यक्षमा शेखर भने उनको परिवारबाट नै पहिलो व्यक्ति हुन् ।

उद्योग क्षेत्रको विकाससँगै महासंघलाई सबल बनाउने कार्य आफ्नो परिवारभित्रको समेत बहसको विषय हुने गरेको र आफू महासंघको नेतृत्वमा थप सबल र सशक्त बनाउने प्रतिबद्धता शेखरले गरेका छन् ।

उनका बुबा हुलासचन्द गोल्छा र उनका ठूलाेबुबाका छोरा दिवाकर गोल्छाले पनि अध्यक्ष बन्ने चाहना राखेका थिए । २०५० सालमा महासंघको स्वाभाविक उम्मेदवारको रूपमा हुलासचन्द गोल्छा थिए । तर, पछि सोही पदमा उद्योगी विनोद चौधरी उम्मेदवार भए । स्वास्थ्यमा समस्या आएपछि हुलासचन्दले उम्मेदवारी नै दिएनन् ।

फेरि २०६४ सालमा गोल्छा परिवारबाट महासंघमा तत्कालीन प्रथम उपाध्यक्ष दिवाकर गोल्छाले अध्यक्ष बन्ने तीव्र चाहना राखेका थिए । शेखरको भाषामा ‘षड्यन्त्रका बाबुजद’ दिवाकरले चाहना भएर पनि अध्यक्षमा उम्मेदवारी दिएनन् । अध्यक्षमा कुशकुमार जोशी र चण्डिराज ढकाल उठेका थिए । गोल्छा परिवारको सहयोग कुशकुमारलाई थियो । कुशकुमार नै विजयी भए । ढकाल दोस्रो कार्यकालको अध्यक्ष बन्ने आसमा थिए ।

गोल्छा परिवारबाट तेस्रो पटकको प्रयासपछि बुबाले नेतृत्व गर्न चाहेको संस्थामा २७ वर्षपछि आफैँ नेतृत्व गरेका शेखरले अध्यक्षको कुर्सी कामले स्वर्णिम बनाउने प्रतिबद्धता गरेका छन् । उनले उद्योगको कसरी विस्तार गर्न सकिन्छ, देशभित्र निजी क्षेत्रका तर्फबाट अधिकतम् कति रोजगारी सिर्जना गर्न सकिन्छ भनेर अध्ययन गरेर योजना तयार पारेको बताएका छन्  ।

यसमा १० वर्षे दीर्घकालीन कार्ययोजना र आफ्नो कार्यकालमा गर्न सकिने ३ वर्षे मध्यमकालीन कार्ययाेजना तयार पारेको उनी बताउँछन् । आफ्नो व्यवसाय पनि तीव्र रूपले विस्तारको योजनामा छन् शेखर । उनी पछिल्लो समयमा भ्याक्सिन उत्पादनमा पनि केन्द्रित छन् । उनको उद्योगमा उत्पादन हुने भ्याक्सिन अहिले १५ देशमा निर्यात भइरहेको छ ।

उनले नवलपरासीमा मोटरसाइकलको एसेम्बल्ड उद्योग सञ्चालन गर्दै छन्, जसमा ३ सय इन्जिनियरले रोजगारी पाउँदै छन् । नेपालमै सामसुङको टेलिभजन फिट गर्छ गोल्छा ग्रुपले । मोटरसाइकलसम्बन्धी अन्य उद्योग पनि सञ्चालनको तयारीमा छन् उनी । उनका बाजेले भनेजस्तै उद्योग र रोजगारी दुवै बढाएर अघि बढ्ने योजनामा छन् शेखर । छोरा अभिमन्यु र श्रीमती सीमा पनि उनलाई साथ दिइरहेका छन् ।

Featured