देश

पोखरामा २०६ जनामा भेटियो डेंगु

पोखरा, भदौ ७–पोखरामा २०६ जनामा डेंगुको संक्रमण फेला परेको छ । शुक्रबार डेंगु संक्रमित नयाँ २० बिरामी भेटिएका हुन् । डेंगुको प्रकोप नियन्त्रणबाहिर गइरहेको छ । संघीय सरकार र स्थानीय तहबीच समन्वय नहुँदा डेंगु रोक नियन्त्रणको प्रयास सफल हुन सकेको छैन ।

डेंगु अनुकुल समय भएकाले नियन्त्रणमा लिने प्रयास पूर्ण रुपमा सफल हुन नसकेको गण्डकी प्रदेश स्वास्थ्य निदेशनालयका सिनियर मेडिकल अफिसर डा. भोजराज गौतम बताउछन् । उनले भने, ‘हामीले मात्र सचेतना जगाएर केही दिन केही व्यक्तिको घर आगनमा गएर लामखुट्टेको बासस्थान, लार्भा र प्यूपा नष्ट गरेर हुँदैन, डेंगु नियन्त्रण गर्न हरेकले आफ्नो घर आगन वरिपरि पानी जम्न नदिने र लामखुट्टेको लार्भा नष्ट गर्नुपर्छ ।’

पोखरा महानगरपालिका( ८ र ९ मा डेंगुको बढी संक्रमण फैलिएको छ । वडा नम्बर ८ र ९ मा बढी कवाडी संकलन, बसपार्क सहितको वर्कसप, होटल तथा रेष्टुरेण्ट भएकोले पनि पानी जम्ने ठाउँ प्रसस्त भएकाले लामखुट्टेको वृद्धि भइरहेको डा गौतमको भनाइ छ ।

बिरामीको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । एडिव एजिपटाईको पोथी जातको लामखुट्टेले टोकेमा डेंगु रोग लाग्ने गर्छ । पूर्वको धरानबाट सुरु भएको डेंगु रोग पश्चिमसम्म फैलिइसकेको छ । डेंगुबाट डोटीको दिपायल सिलगढी नगरपालिका( ६ थाप्लाकी ४२ वर्षीया छत्र मलासी ‘छायाँ’ को शुक्रबार मृत्यु भएको छ ।

Featured