देश

एनआईसी एशियाको ‘फोटो पात्रो २०७८’ प्रतियोगिता, फोटो पठाएर पुरस्कार जित्न सकिने

एनआईसी एशिया बैंकले सम्पूर्ण नेपाली नागरिकहरूका लागि ‘फोटो पात्रो २०७८’ नामक फोटो प्रतियोगिताकाे घाेषण गरेकाे छ । बैंकले आफ्ना ग्राहक एवं अन्य महानुभावहरूसँग रहेकाे फोटो खिच्ने कौशलको कदर गर्दै २०७८ को क्यालेण्डरमा उत्कृष्ट फोटोलाई स्थान दिनका लागि उक्त प्रतियोगिताको आयोजना गरिएको बैंकले जनाएकाे छ ।

यसरी प्राप्त हुने फोटोलाई क्यालेण्डरमा राख्ने मात्र नभई बैंकले उचित नगद पुरस्कारको व्यवस्थासमेत गरेको छ । यस प्रतियोगितामा सहभागी हुन इच्छुकले सिजन, होप र पोजिटिभिटी, लाइफस्टाइल र फ्रेण्डसिप विधाहरूमा आफूले खिचेका एक वा एकभन्दा बढी फोटो पठाउन बैंकले आग्रह गरेकाे छ ।

५० शब्द नबढाई आफ्नो फोटोको क्याप्सन लेखी https://www.nicasiabank.com/photo-patro लिंकमा अपलोड गर्नुपर्नेछ । बैंकका अनुसार प्रतियोगिताबाट प्राप्त उत्कृष्ट १२ फोटोहरू बैंकले आफ्नो नयाँ वर्ष २०७८ को क्यालेण्डरमा प्रकाशित गर्नेछ र उक्त फोटोहरूका लागि बैंकले प्रतिफोटो १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।

यस प्रतियोगिताबाट उत्कृष्ट १२ मा सामेल हुन नसकेका अन्य आकर्षक फोटोहरूलाई बैंकले सम्मानस्वरूप आफ्नो सामाजिक सञ्जालका माध्यमहरू एवं विभिन्न प्रवर्द्धनात्मक प्रयोजनमा फोटो खिच्नेको नाम र क्याप्सनका साथ प्रकाशित गर्ने व्यवस्था गरेको छ ।प्रतियोगितामा पठाउनुपर्ने फोटो कम्तीमा ५४००×३६०० पिक्सेल, साइज (इन्च) १८×१२, रिजोलुसन ३०० डीपीआई र ल्याण्डस्केप हुनुपर्नेछ ।साथै, यस प्रतियोगितासम्बन्धी विस्तृत जानकारी बैंकको वेबसाइट तथा सामाजिक सञ्जालहरूमार्फत प्राप्त गर्न सकिनेसमेत बैंकले जनाएकाे छ ।

Featured