देश राजनीति

सत्ता साझेदारीबारे कांग्रेससँग छलफल भएको छैन : विष्णु पौडेल

काठमाडौं, ९ मंसिर-अर्थमन्त्री एवं नेकपा महासचिव विष्णु पौडेलले सत्तासाझेदारी गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगकाे छलफल निराधार भएको बताएका छन् । आज प्रेस संगठन रूपन्देहीले आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, ‘प्रतिपक्ष दलको नेता भएपछि भेटघाट हुनु स्वभाविक हो । तर, सत्ता समीकरणको बारेमा केही कुरा भएको छैन ।’

त्यस्तै, मन्त्री पौडेलले निर्वाचनको बेला तयार भएको घोषणापत्रलाई कार्यान्वयन गर्दै जनताका पक्षमा निर्णय गर्दै जाने बताए । उनले भने, ‘मन्त्रिपरिषद्ले गर्ने निर्णय बैठकबाट हुन्छ । अर्थ मन्त्रालयले गर्ने निर्णय स्वयम मन्त्रालयलले गर्दै हामीले निर्वाचनको घोषणापत्र कार्यान्वयन हुने गरी जनमुखी निर्णय गर्छाैँ,’ उनले भने । पौडेलले पाँच वर्षको अवधि नसकिँदै घोषणापत्र कार्यान्वयन गरेर पुनः जनता सामु जाने बताए ।

फरक प्रसंगमा उनले अर्थमन्त्रीको पदसँग राजधानी साँटेको हल्ला निराधार रहेको बताए । प्रदेशको राजधानी प्रदेशसभाले तोक्ने र अर्थमन्त्री प्रधानमन्त्रीले बनाउने भएकाले राजधानीसँग पद साँट्यो भन्ने हल्ला गलत भएको बताए ।

रूपन्देही क्षेत्र नं २ का सांसदसमेत रहेका पौडेलले पार्टीको समस्या समाधान गर्दै पार्टी एकताको रक्षा गर्नमा नेतृत्व लागेको समेत बताए ।  उनले कोरोना भाइरस (कोभिड-१९) संक्रमितको निःशुल्क उपचारबाट सरकारपछि नहेटेको सेमत स्पष्ट पारे ।

‘देशभर आधारभूत अस्पताल तयार गर्ने भनी बजेट निकासा गरेका छाैँ, अस्पताल तयारीको काम धमाधम भइरहेको छ । छिट्टै १५ गते आधारभूत अस्पतालको शिल्यानाश हुन्छ,’ मन्त्री पौडेलले भने, ‘यस्तो जनमुखी काम गर्ने सरकार स्वास्थ्य सेवाबाट कसरी पन्छिन सक्छ ?’

Featured