देश

महानरीय ट्राफिक प्रहरी महाशाखाको नेतृत्व परिवर्तन

काठमाडौं, ८ मंसिर-काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी हेर्ने निकाय महानरीय ट्राफिक प्रहरी महाशाखाको नेतृत्व परिवर्तन भएको छ । प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालको ठाउँमा महाशाखाको प्रमुखको जिम्मेवारीमा प्रहरी वरिष्ठ उपरीक्षक जनकराज भट्टराई आएका हुन् । महाशाखामा आज एक कार्यक्रमको आयोजना गरी भट्टराईको स्वागत र ढकालको विदाई गरिएको छ । विदाई समारोहमा वरिष्ठ उपरीक्षक ढकालले आफ्नो कार्यकालमा आफूले उपत्यकाको ट्राफिक व्यवस्थापनमा महत्त्वपूर्ण काम गरेको दावी गरे ।

ट्राफिक व्यवस्थापनका लागि आफूले गरेको प्रयास सफल रहेको उनले बताए । आम नागरिकबाट समेत उपत्यकाको ट्राफिक व्यवस्थापनको प्रशंसा हुने गरेको उल्लेख गर्दै ढकालले भोलिका दिनमा यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

नवनियुक्त प्रमुख भट्टराईले उपत्यकामा हुने ट्राफिक जाम र दुर्घटना काम भएका कामहरुलाई आफुले निरन्तरता दिने बताए । विगतमा पनि आफूले महाशाखाअन्तर्गत रहेर काम गरेको उल्लेख गर्दै उनले सवारी जाम र दुर्घटना न्यूनीकरण आफूले पहिलो प्राथमिकतामा राख्ने बताए ।

ढकालको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा सरुवा भएको हो । उनले महाशाखा प्रमुख भएर १५ महिना ट्राफिक प्रहरीको नेतृत्व गरेका थिए । आज नै कुशलतापूर्वक कर्तव्य निर्वाह गर्ने अधिकृत र जवान गरी १९ जना ट्राफिक प्रहरीलाइ पुरस्कृत गरिएको छ । यसैगरी दसैँतिहार र त्योभन्दा अगाडिको समयमा चोरी भएका २४ वटा मोटसाइकल सवारी धनीलाइ हस्तान्तरण गरेको छ ।

Featured