देश

ब्याक गेयरको राजस्व लक्ष्य पूरा नभए दण्ड : अर्थमन्त्री

काठमाडौं, ८ मंसिर-अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षको बजेट बक्तव्यमा उल्लेखित राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न निर्देशन दिएका छन् ।

अर्थ मन्त्रालयका सचिवहरू, आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशक, भन्सार तथा आन्तरिक राजस्व कार्यालयका प्रमुखहरूलगायतको सहभागितामा सोमबार आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो निर्देशन गरेका हुन् ।

उनले लक्ष्य पूरा हुँदा पुरस्कार र नहुँदा दण्ड हुने चेतावनी पनि दिएका छन् । ‘कठिनाइ र समस्याहरूलाई समाधान गर्न मन्त्रालयले सहयोग, सहजीकरण र प्रोत्साहन गर्छ । लक्ष्य पूरा भए हामी सम्मान गर्छौ । पूरा नभए तपाईँहरू दण्डित हुनुपर्छ’, उनले भने ।

अर्थमन्त्री पौडेलले कोभिडका कारण ‘ब्याक गेयर’ लगाएर राजस्वको लक्ष्य निर्धारण गरिएको भन्दै चालू आर्थिक वर्ष सकिदा लक्ष्य पूरा हुने अवस्था रहने बताए ।

कोभिड–१९ ले सिर्जना गरेका चूनौतीको सामना गर्दै राजस्व संकलनको लक्ष्य पूरा गर्न कुनै सम्झौता नगर्ने बताए । डर, त्रास सिर्जना गरेर कर्मचारीलाई काममा नलगाउने बताउँदै अर्थमन्त्री पौडेलले योग्यता र क्षमताको कदरसहित काम गर्ने अनुकूल परिस्थिति सिर्जना गरेर काम लगाउने बताए ।

अर्थमन्त्री पौडेलले परिणाम निकाल्ने गरी काम गर्नका लागि कर्मचारीको व्यक्तित्व विकास र क्षमता अभिवृद्धिमा विशेष जोड दिने उल्लेख गर्दै आपसी प्रतिष्पर्धा गरेर काम गर्न पनि अनुरोध गरे ।

भर्चुअल माध्यमबाट आयोजना गरिएको कार्यक्रममा अर्थसचिव शिशिरकुमार ढुङ्नाले राम्रो काम गर्नेलाई मन्त्रालयले संरक्षण तथा पुरस्कृत गर्ने र कार्य सम्पादन कमजोर भए मन्त्रालय कठोर बन्ने बताए । उनले राजस्वको लक्ष्य पूरा गर्न र त्योभन्दा बढी परिणाम निकाल्नका लागि आवश्यकताअनुसार कार्यक्रम संशोधन र रणनीति बनाएर अघि बढ्न निर्देशन दिए ।

राजस्व सचिव रामशरण पुडासैनीले चुहावट नियन्त्रणमा विशेष ध्यान दिन आग्रह गर्दै लगानीलाई प्रोत्साहन गर्ने गरी काम गर्न अनुरोध गरे । उनले करदाता, लगानीकर्ता, सेवाग्राहीले गुनासो नगर्ने गरी काम गर्न आग्रह गर्दै निर्णय र कार्यान्वयन प्रक्रियामा समस्या भए समाधान गर्ने बताए ।

Featured