देश

पार्टी अध्यक्षसँग भएको भनाभनलाई गम्भीर ढंगले नबुझ्न नेता नेपालको आग्रह

काठमाडौँ, भदौ ६–नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफू र पार्टी अध्यक्षबीच भएको भनाभनको विषयलाई गम्भीर ढंगले नबुझ्न आग्रह गरेका छन् । सहयोगी नगर सामुदायिक समाजले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा नेता नेपालले कार्यकर्ताले यसबारे चिन्ता व्यक्त गरेकोमा आफ्नो ध्यानाकर्षण भएको भन्दै यो विषयलाई सामान्य रुपमा लिन आग्रह गरेका हुन् ।

विषयवस्तुमाथिको बुझाइमा एकरुपता ल्याउन, एजेण्डा स्थापित गर्न पार्टी्भित्र वादविवाद भइरहने तर्क गर्दै उनले त्यसलाई श्रीमान् श्रीमतीको घर झगडाको रुपमा बुझ्न पनि सुझाव दिए । झगडा भयो भनेर वैवाहिक जीवनप्रति नै निराश हुनुको सट्टा समस्या समाधान गर्दै अघि बढ्नुपर्ने भन्दै उनले राजनीतिमा पनि भागेर नभइ समस्यासँग जुध्दै, सामाना गर्दे अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

उनले भने, ’नेताहरुबीच भनाभन भएछ भनेर पूर्ववक्ता साथीले चिन्ता व्यक्त गर्नुभयो योबाट अत्तिनु केही पनि पर्दैन । घरमा श्रीमान् श्रीमतीको झगडा भयो भने दिक्क मान्ने ? त्यही हो । बिहे गर्नु नै बेकार रहेछ । छोराछोरी जन्माउनु नै बेकार रहेछ भन्नु ? यो जीवनको यथार्थ हो । पछाडि हट्नु हुँदैन । आएका समस्यालाई कसरी समाधान गर्ने ? समस्या त आउँछन् । नआओस् भन्ने हो भने पर जंगलमा गएर एक्लै तपस्या गरेर बसे हुन्छ । सामाजिक जीवनमा प्रवेश गर्ने हो भने अनेकौ समस्याहरु आउँछन् । बाधा अवरोध आउँछन् । ती समस्याको सामना गर्ने आँँट हुनुपर्छ । सामर्थ्य पनि हुनुपर्छ । तपाईंमा सामर्थ्य छैन भने तपाईंले केही पनि गर्न सक्नुहुन्न ।’

नेता नेपालले पारिवारिक, राजनीतिकलगायत सबै क्षेत्रमा नेतृत्वले सुन्ने धैर्यता गर्नुपर्ने र सबैको कुरा सुनेर निर्णयमा पुग्नुपर्ने बताए ।