यसपटकको नेपालगन्ज म्याराथनलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ओलम्पिक छनोटका रुपमा समेत लिएको छ । नेपालगञ्ज म्याराथनका विजेता सन् २०२१ मा जापानको टोकियोमा हुने ओलम्पिकका लागि छनौट हुनेछन् ।
एक दशक लामो माओवादी सशस्त्र द्वन्द्व अन्त्य गर्ने गरी सरकार र विद्रोही पक्षबीच ०६५ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भएको थियो । सोही शान्ति सम्झौताको स्मरण गर्दै द्वन्द्वको उद्गमस्थल तत्कालीन मध्यपश्चिम क्षेत्रको प्रमुख सहर नेपालगञ्जमा म्याराथन सुरु भएको थियो ।
नेपाल एथ्लेटिक्स संघबाट मान्यताप्राप्त सो म्याराथनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट स्वीकृति प्राप्त गरेको छ । कोभिड १९ को महामारीले उत्पन्न स्वास्थ्य संवेदनशिलतालाई ख्याल गर्दै स्वास्थ्य मापदण्डलाई पालना गरी म्याराथन संचालन गरिने आयोजक क्रियटिभ ह्याण्डस्का अध्यक्ष टीएस ठकुरीले बताए ।
आईतबार आयोजित पत्रकार सम्मेलनमा नेपाल एथलेटिक्स संघका केन्द्रीय अध्यक्ष राजीवविक्रम शाहले नेपालगञ्ज म्याराथनलाई अन्तर्राष्ट्रियस्तरको बनाउन संघले सघाउने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस