खेलकुद देश

नेपाली फुटबल टोली बंगलादेश प्रस्थान

काठमाडौं,   २० कात्तिक-गोलकीपर किरण चेम्जोङलाई कप्तानी जिम्मा दिइएको नेपाली फुटबल टोली बिहीबार बंगलादेश प्रस्थान गरेको छ । मैत्रिपूर्ण खेलका लागि प्रस्थान गरेको नेपाली टोलीले बंगलादेशको एक साता बसाईमा घरेलु टोलीसँग दुई मैत्रिपूर्ण खेल खेलेर फर्किने छ ।  

लामो समयपछि मैदान फर्किएको नेपाली राष्ट्रिय फुटबल टोली मैत्रिपूर्ण खेलका लागि बंगलादेश जाँदैगर्दा निकै उत्साहीत देखिएको छ । बुधबार सार्वजनिक गरिएको राष्ट्रिय टोलीमा आठ नयाँ अनुहारले स्थान बनाउँदा अभ्यासको क्रममा चोट भोगेका रोहित चन्द भने टोली बाहिर रहेका छन् ।

यस्तै, अन्य सात खेलाडीमा कोरोनालाई देखिएपछि ती खेलाडीको भ्रमण स्थगित भएको छ । उनीहरू अहिले आइसोलेसनमा छन् । नयाँ जर्सी पाउनेमा दिलेन लोक्ताम, पुजन उपरकोटी, सेसेहाङ आङदेम्बे, विकास खवास, एरिक विष्ट, दर्शन गुरुङ, दीप कार्की र छिरिङ गुरुङ पहिलो पटक सिनियर टोलीमा अटाएका हुन् ।

मैत्रिपूर्ण खेलका लागि बुधबार गरिएको सामान्य विदाई कार्यक्रमपछि मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले एक साताको अभ्यासले खेलाडीको फिटनेसमा सुधार आएको र बंगलादेश बसाई थप फलदायी हुने अपेक्षा व्यक्त गरे ।

 नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । कोरोना महामारीपछि फुटबलमा फर्किन पाउँदा खेलाडीमा उत्साह थपिएको कप्तान किरण चेम्जोङले बताए ।

यस्तै, टोलीका फरवार्ड भरत खवासले फुटबलमा फर्किन पाउँदा निकै खुसी लागेको बताए । साथै, बंगलादेश सँगको मैत्रिपूर्ण खेलले टोलीलाई अनुभव र नयाँ अनुहारलाई मैत्रिपूर्ण खेलले अनुभव दिने पनि उनले बताए ।

अखिल  नेपाल फुटबल संघ (एन्फा) ले प्रस्थान गर्नुअघि टोलीको कोरोना पीसीआर गरिएको थियो । पीसीआर गर्दा दुई खेलाडीमा कोरोना देखिएको थियो । टोलीले बंगलादेशमा एक साता विताएपछि मात्रै मैत्रिपूर्ण खेल खेल्ने तालिका छ ।

Featured