विदेश

भारतमा ३ लाख मानिस बेरोजगार, १० लाखको रोजगारी संकटमा

काठमाडौं, भदौ ६–भारतमा चार क्षेत्रमा आर्थिक मन्दीको असर देखिँदै छ । मन्दीका कारण लाखौं रोजगारी खतरा उन्मुख भएका छन् । अर्थव्यवस्थामा देखापरेको मन्दीका कारण बैंक, इन्स्योरेन्स, अटोसहित लजिस्टिक र इन्फ्रास्टक्चर जस्ता क्षेत्रमा नयाँ रोजगारीका अवसर कम हुँदै गएको पाइन्छ । केयर रेटिङस् लिमिटेडको वार्षिक अध्ययन अनुसार सन् २०१९ मा यी क्षेत्रमा नयाँ रोजगारीका अवसर घट्दो आँकडामा देखिन्छन् । त्यही तथ्यांक अनुसार सबै क्षेत्रको वृद्धि पहिलेको तुलनामा १.९ प्रतिशत कम रहेको छ ।

मन्दीको असरसँग संघर्षरत गैरबैंकिङ फाइनान्स, सवारी साधन, बिस्कुटदेखि टेक्सटाइल उद्योगमा रोजगारी कटौतीको त्रास बढ्दो छ । अझ भर्खर प्रकाशित चिन्ताजनक रिपोर्टबाट मानिसहरू त्रसित हुन थालेका छन् । मन्दीको असर अब करोडौं रोजगारी दिने क्षेत्रमा पनि पर्दै छ ।

भारतको केन्द्रीय बैंक आइआरबीले हालै जारी गरेको आँकडाअनुसार उद्योगहरूमा प्रवाह हुने ऋणमा कमी आएको छ । पेट्रोलियम, उत्खनन, टेक्सटाइल, मल कारखाना तथा सञ्चारजस्ता क्षेत्रमा काम गर्ने उद्योगहरूले ऋण लिन कम गरेका छन् । यसको प्रत्यक्ष असर बैंकहरूले प्रवाह गर्ने ऋणमा पर्न सक्ने सम्भावना छ ।

एसबिआईका प्रमुख रजनीश कुमारले पनि ऋणको माग कम भएको बताएका छन् । भारतीय अनलाइन वेबदुनियाका अनुसार कुमारले अर्थव्यवस्थालाई चलायमान बनाउन प्रोत्साहनको आवश्यकता रहेको बताएका छन् । ऋण आपूर्तिमा कुनै समस्या नरहेको बताउँदै उनले सार्वजनिक क्षेत्रका बैंकहरूसँग कर्जाका लागि पर्याप्त रूपमा मौज्दात रहेको बताए ।

मारुति सुजुकी, बजाज, टाटा स्टिल, टाटा मोटर्स, युनाइटेड इन्डिया इन्स्योरेन्स, नेसनल इन्स्योरेन्सजस्ता विशाल कम्पनीयाहरूमा मन्दीको संकेत देखिँदै छ । अटो क्षेत्रबाट विगत चार महिनामा ३ लाख ५ हजार मानिस बेरोजगार भए, अझै १० लाख मानिसको रोजगारीमा संकटको बादल मडारिँदै छ ।

मोर्गन स्टेनलीजस्ता विशाल कम्पनीहरूले भारत यो मन्दीबाट टाढै रहने दाबी गरे पनि आगामी ९ महिनामा भारतसहित पुरै विश्वलाई मन्दी भारी हुँदै छ । यसको असर कम गर्ने हे भने भारतले कडा कदम चाल्नु आवश्यक छ ।

Featured