देश

भक्तपुरमा संक्रमण र मृत्युदर बढ्दो

भक्तपुर, १४ कात्तिक-भक्तपुरमा कोरोना भाइरस सङ्क्रमण र मृत्युदर दैनिक बढ्दै गइरहेको छ । जिल्लामा आज बिहानसम्ममा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ५ हजार ५ सय नाघेको छ । 

जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार जिल्लामा ३ हजार १ सय ७५ पुरुष र २ हजार ४ सय २१ महिला गरी कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पाँच हजार ५ सय ९६ जना पुगेको छ । त्यसैगरी जिल्लामा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ६९ पुगेको छ । बुधबार र बिहीबार मात्रै भक्तपुरमा भाइरसकै कारण पाँच जनाको ज्यान गएको छ । छाला र मिर्गौला रोगका बिरामी कैलाली गौरीगङ्गा नगरपालिका–४ की २८ वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण बिहीबार साँझ भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुमित्रा गौतमले जानकारी दिइन् ।

कोरोना सङ्क्रमण पुष्टिपछि ३ कात्तिकमा भक्तपुर अस्पतालमा भर्ना भई उपचार गराइरहेकी महिला र भक्तपुर नगरपालिका–१ का ७९ वर्षीय पुरुषको पनि कोरोना सङ्क्रमणका कारण बिहीबार साँझ मृत्यु भएको हो । स्वास्थ्य समस्याका कारण असोज २३ मा भर्ना भएका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भई उपचारकै क्रममा मृत्यु भएको डा. गौतमले जानकारी दिइन् ।

त्यस्तै, ४ कात्तिकमा कोरोना सङ्क्रमण पुष्टि भई करुणा अस्पताल बूढानीलकण्ठमा उपचाररत मधुमेहका बिरामी भक्तपुर नगरपालिका–३, बाराहीस्थानका ५६ वर्षीय पुरुषको पनि बिहीबार नै मृत्यु भएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए. । भक्तपुरमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुने दर समग्र नेपालको दोब्बरभन्दा बढी रहेको उनले बताए । कोरोना सङ्क्रमणबाट नेपालको समग्र मृत्युदर ०.६ प्रतिशत रहेको अवस्थामा भक्तपुरमा भने बिहीबारसम्म सङ्क्रमणबाट मृत्यु हुने दर १.२३ प्रतिशत रहेको उनको भनाइ छ ।

त्यसैगरी, कोरोना भाइरस सङ्क्रमितको निको हुने दर भने भक्तपुरमा ६७.३३ प्रतिशत छ । बिहीबारसम्म २ हजार ८१ पुरुष र १ हजार ६ सय १८ महिला गरी ३ हजार ६ सय ९९ सङ्क्रमित निको भएर घर गएको कार्यालय प्रमुख मिजारले जानकारी दिए ।

भक्तपुरमा हाल १ हजार ४७ पुरुष र ७ सय ८१ महिला गरी १ हजार ८ सय २८ सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये २ सय २२ पुरुष १ सय ३१ महिला गरी ३ सय ५३ जना अस्पताललगायतको आइसोलेसनमा तथा ९ सय ७५ पुरुष र ७ सय ७२ महिला गरी १ हजार ७ सय ४७ अर्थात् ८३.१९ प्रतिशत होम आइसोलेसनमा रहेको उनले बताए ।