देश मनोरंजन

‘आइसक्रिम’ अन्तर्राष्ट्रिय फेस्टिबलमा छनोट

काठमाडौं, १४ कात्तिक-संगीता श्रेष्ठको निर्देशनमा तयार भएको लघु चलचित्र ‘आइसक्रिम’ ‘अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिबल २०२०’मा छनोट भएको छ । बाल यौन शोषणमा आधारित रहेर निर्माण भएको यस चलचित्र फेस्टिबलको पहिलो दिन ३ नोभेम्बरमा प्रदर्शन हुँदै छ ।

३ नोभेम्बरदेखि सुरु हुने फेस्टिबल ५ दिनसम्म चल्नेछ । कोरोना महामारीका कारण भर्चुअल रूपमा हुने फेस्टिबलमा पहिलो दिन नै आफ्नो चलचित्र स्क्रिनिङ हुन लागेको निर्देशक श्रेष्ठले बताइन् ।

अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा आफ्नो चलचित्र छनोट हुँदा निकै खुसी छिन् संगीता । उनी भन्छिन्, ‘मैले उठान गरेको विषय संसारभर पुग्दै छ । निकै उत्साहित पनि छु ।’

सडकमा पैसा माग्दै हिँड्ने एक बालिकाको कथा यो चलचित्रले बोल्छ । समाजको अँध्यारो पक्षलाई समेटेर आफूले चलचित्र बनाएको संगीता बताउँछिन् । नौ मिनेट लामो चलचित्रमा भूमिका योगिशा खत्रीले मुख्य भूमिका निभाएकी छन् ।

‘यो फेस्टिबलले पनि समाजको अँध्यारो पाटो उजागर गर्ने चलचित्रहरू खोजेको थियो । ‘आइसक्रिम’ले हाम्रो समाजका छोरी बलात्कार, यौन शोषणमा कसरी पर्छन् भन्ने देखाएको छ । हाम्रा छोरीहरूलाई हामीले यस किसिमको अपराधबाट बचाउनुपर्छ भन्ने उद्देश्यले चलचित्र बनेको छ’, संगीताले भनिन् ।

श्रेष्ठका अनुसार यो चलचित्र अमेरिकाको ‘बेस्ट अफ ल्याटिन अमेरिका सर्ट फिल्म फेस्टिबल’, यूकेको ‘फस्ट टाइम फिल्ममेकर सेसन्स’, इटालीको इन्टिमलेन्ट फिल्म फेस्टिबल र नेपालको मानवअधिकार फिल्म फेस्टिबल २०२० मा छनोट भइसकेको छ । यद्यपि पहिलो स्क्रिनिङ भने, ‘अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिबल’मा हुने भएको हो ।