देश

परराष्ट्रमन्त्री ज्ञवाली र पाकिस्तानी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

कठमाडौं, भदौ ६–पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरैसी र नेपालका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीबीच टेलिफोन वार्ता भएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरको दुई दिने भ्रमण सकेर भारत फर्किएकै दिन पाकिस्तानी विदेशमन्त्रीले परराष्ट्रमन्त्री ज्ञवालीसँग टेलिफोन गर्दै कास्मिर बिवादमा नेपालको धारणाबारे चासो राखेका हुन् ।

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताको कार्यालयबाट जारी विज्ञप्तिमा नेपालका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँग भारत प्रशासित जम्मू काश्मीरका विषयमा कुराकानी गरेको उल्लेख गरिएको छ ।

पाकिस्तानी विदेशमन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरैसीले आफ्ना नेपाली समकक्षीसँग जम्मू काश्मीरका विषयमा चालिएको गैरकानुनी र एकतर्फी हस्तक्षेपका विषयमा कुराकानी गर्नुभएको छ जुन अन्तर्रा्ष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको निर्णयको उल्लंघन समेत हो ।’

पाकिस्तानी विदेशमन्त्रीले भारतको यो कदमले सिंगो दक्षिण एसियाको शान्ति र स्थिरतामा नै प्रभाव गर्ने चिन्ता व्यक्त गरेका छन् । उनले सार्कको अध्यक्ष भएको नाताले शान्ति र स्थायित्व तथा जम्मू काश्मीरका जनताले भोग्नुपरेको समस्याका विषयमा आफ्नो भूमिका खेल्न आग्रह गरेका छन् ।

जवाफमा नेपालका परराष्ट्रमन्त्री ज्ञवालीले नेपालले जम्मू काश्मीरमा विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएका छन् । काश्मीरको मुद्दा शान्तिपूर्ण रुपमा समाधान गरिनुपर्ने पक्षमा रहेको बताएका छन् । दुई नेता यस क्षेत्रको शान्ति र स्थायित्वका लागि मिलेर अघि बढ्न सहमत भएका छन् ।

भारतले पनि काश्मीरका विषयमा आफ्नो धारणा सार्वजनिक गर्न आग्रह गरेको स्रोतले जनाएको छ । ५ अगस्टमा भारतले जम्मू काश्मीरलाई प्राप्त विशेष राज्यको मान्यता खोस्ने निर्णय गरेपछि दुई देशबीच समेत तनावको अवस्था सिर्जना भएको छ ।

Featured