विदेश

ट्रम्पद्वारा डेनमार्क भ्रमण रद्द

एजेन्सी, भदौ ६–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्क भ्रमण रद्द गरेको विषयले आश्चर्यमा परेको डेनिस प्रधानमन्त्री मेटे फ्रेडिक्सनले बताएकी छन् ।

ग्रिनल्याण्ड किन्ने आफ्नो सोचलाई डेनिस प्रधानमन्त्री फ्रेडिक्सनले अस्विकार गरिदिएपछि ट्रम्पले उनको निन्दा गर्दै खराब नेता भएको टिप्पणी गरेका छन् । डेनमार्ककी प्रधानमन्त्री फ्रेडिक्सनले भने ट्रम्पले ‘रूखो’ ढंगबाट आफ्नो देशको राजकीय भ्रमण रद्द गरेकोमा दुःख लागेको प्रतिक्रिया दिएकी छन् ।

डेनिस प्रधानमन्त्रीले ग्रिनल्याण्ड खरिदसम्बन्धी सम्झौताको सोचलाई ‘हास्यास्पद’ भएको बताएकी थिइन् । महारानी मार्ग्रेटा द्वितीयले ट्रम्पलाई २ सेप्टेम्बरमा डेनमार्कको भ्रमण गर्न निम्ता दिएकी थिइन् । सो भ्रमण रद्द गर्ने ट्रम्पको शैलीले अचम्मित भएको भन्दै प्रधानमन्धी फ्रेडिक्सनले भ्रमण रद्द गर्ने कदम दुर्भाग्यपूर्ण र आश्चर्यजनक भएको बताएकी छन् ।

ट्रम्पले चेतावनीपूर्ण रुपमा होच्याँउदै भने, ‘उनी मसँग बोलिरहेकी छैनन्, उनी अमेरिकासँग बोलिरहेकी छन । अमेरिकासँग त्यसरी बोलिंदैन, कम्तिमा मेरो नेतृत्वमा।’ डेनिस प्रधानमन्त्रीले यसअघि प्राकृतिक स्रोतहरूमा धनी रहेको उत्तर ध्रुवीय टापु बेच्ने कुरा नेता र आफू दुवैले स्पष्टसँग अस्विकार गरेको बताएकी थिइन् ।

ट्रम्पले चाहीं यसअघि समेत अमेरिकी राष्ट्रपति ह्यारी ट्र्युमनले ग्रिनल्यानलाई केही राम्रा प्रस्तावहरू गरेको स्मरण गराउँदै उक्त विशाल टापु किन्ने कुरा अगाडी सारेका थिए। ग्रिनल्याण्ड डेनमार्कको स्वशासित भूभाग हो।

Featured